
काठमाडौं ।
विद्युतीय बस संचालन गर्दै आएको साझा यातायातले विद्युतीय माइक्रोबस पनि सञ्चालन गर्ने भएको छ। साझाले विद्युतीय माइक्रोबस सञ्चालनका लागि खरिद टेण्डर निकालेको छ।
सोमबार एक सूचना जारी गर्दै २५ ओटा विद्युतीय माइक्रोबस किन्न टेण्डर निकालेको हो।
साझाले टेण्डरमा सहभागी हुन इच्छुक कम्पनी तथा फर्महरूसँग जून २३ मा प्रि-बिड मिटिङ राखेको छ। त्यस्तैगरि जुलाई १० तारिखमा साझा यातायातले टेण्डर खोल्ने सूचनामा उल्लेख छ।
विद्युतीय माइक्रोबसको टेण्डरमा सहभागी हुने कम्पनीले ३० लाख रूपैयाँ धरौटी रकम जम्मा गर्नुपर्ने छ।
यसका साथै साझा यातायातले ५ वटा विद्युतीय स्कुटर पनि कुन्ने भएको छ। विद्युतीय माइक्रोबससँगै साझाले ५ वटा विद्युतीय स्कुटर किन्न टेण्डर आव्हान गरेको हो।
स्कुटरको बिड सेक्युरिटी रकम ३० हजार रूपैयाँ तोकिएको छ।
हाल साझा यातायातले काठमाडौं उपत्यका भित्र विद्युतीय बस मार्फत पनि सेवा दिँदै आईरहेको छ।
निजी कम्पनीहरुले समेत विद्युतीय माइक्रोबसमार्फत लामो र छोटो दूरीहरुमा सेवा दिईरहेको सन्दर्भमा साझाले पनि विद्युतीय माइक्रोबसमार्फत सेवा संचालन गर्न लागेको देखिन्छ।
प्रकाशित: २८ जेष्ठ २०८१, सोमबार