
काठमाडौं ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको इजलासले पौडेल थुनामा पठाउने आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत जेठ ९ गते पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारको चार्जसिटअनुसार सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको २०७४/०७५ देखि २०७९/०८० को अवधिमा पौडेल आफैँले टेण्डरहरुको कोटेशन (Quotation/Specification) बनाई योजनाबद्ध ढङ्गले आफैँले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्लुडीएन (WDN), ओबीसीआई (OBCI), म्याक्स (MAX),नेक्स्टजेन सलुसन (Nextgen Solution) लगायतका कम्पनीहरुसंग ठेक्का सम्झौता गरेको र उक्त स्वदेशी आपूर्तिकर्ताहरुले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक (Instasafe Inc) र बानकोटेक प्रालि (Bancotec Pte Ltd) जस्ता कम्पनीहरुसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरु स्वदेशमा आपूर्ति गर्ने गरेको र सो साझेदारी बापत विदेशी कम्पनीहरुले कमिशन बापत निज विकल पौडेलको सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्क र संयुक्त राज्य अमेरिका स्थित बैङ्क अफ अमेरिकामा जम्मा गरेको देखिएको छ।
यसैगरी निज सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको बखत नेपाल सरकारको कुनै स्वीकृति सहमति नलिई सिंगापुरको बानकोटेक प्रालि र इन्स्टासेफ इंक नामक कम्पनीमा आफू नेपाल सरकारको कर्मचारी भएको व्यहोरा लुकाई निजले अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा नियुक्ति लिई बिक्री एजेण्टको रुपमा काम गरेको, बिक्री कमिशन बापत रकम लिएको र इन्स्टासेफ इंकबाट बिक्री कमिशन बापत रकम लिएको व्यहोरा सोही कम्पनीहरुबाट प्राप्त पत्रबाट खुल्न आएको उल्लेख छ।
यस्तै पौडेलले पटकपटक गरी रु. ३,७७,९१,१०० रकम सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाल समेतलाई ट्रान्सफर गरेको साथै विभिन्न मितिमा सिंगापुरस्थित प्रुडियन्सल एसुरेन्स कम्पनीमा रु. २,४४,६३,८२२/२७ बराबरको प्रिमियम भूक्तानी गरी जीवन बीमा समेत गरेको देखिएको दाबी छ।
पौडेलको हकमा कैद र बिगोबमोजिम जरिवानाको सजाय गरी जम्मा विगो बैंसठ्ठी करोड उन्नाइस लाख अठार हजार छ सय चौरासी रुपैयाँ जफत/असुल उपर हुन मागदावी लिइएको छ।
त्यसैगरी अख्तियारले सोही मुद्दामा उनकी श्रीमति एलिना बस्नेत, बाबु धर्म प्रसाद शर्मा पौडेल र आमा शितल पौडेललाई समेत विपक्षी बनाएको छ।
सम्बन्धित समाचार-
अकुत सम्पत्ति आर्जन गरेको भन्दै विकल पौडेलविरुद्ध ६२ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा
प्रकाशित: १६ जेष्ठ २०८१, बुधबार