मन्थलीमा टेलिमेडिसिन सेवा सुरु

Technology Khabar १३ जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालमा इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन) सेवा सुरु भएको छ। लामो समयको प्रयासपछि यहाँ टेलिमेडिसिन सेवा सुरु भएको हो।

धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति विभागका विशेषज्ञ चिकित्सकसँग समन्वय गरी शुक्रबारबाट सेवा सञ्चालन गरिएको मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताए।

उनले भने, “इन्टरनेटमार्फतबाट एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन सेवा हो । लामो समयदेखिको प्रयासपछि मन्थली अस्पताल यो सेवा सञ्चालन गर्न सफल भएको छ । उपचारका लागि लामो समय पालो कुर्नु नपर्ने र बिरामीले स्त्री तथा प्रसूति रोगका विशेषज्ञ चिकित्सकसँग परामर्श लिन पाएपछि सेवाग्राही खुसी भएका छन् ।”

बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धुलिखेल अस्पताल, मन्थली नगरपालिका, मन्थली अस्पताल व्यवस्थापन समितिको समन्वयनमा मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले बताए। उनका अनुसार टेलिमेडिसिन सेवा सुरु गर्ने मन्थली अस्पताल जिल्लाकै पहिलो
स्वास्थ्य संस्था बनेको छ।

अब मन्थली अस्पतालमा उपचारका लागि आएका बिरामीको थप उपचारका लागि इन्टरनेटमार्फत मन्थली अस्पतालका चिकित्सकले धुलिखेल अस्पतालका विशेषज्ञ चिकित्सकसँग समन्वय गरी उपचार गर्ने उनले बताए।

मन्थली नगरपालिकाले २०७८ साल माघबाट मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको मन्थली अस्पतालमा स्तरोन्नति गरी सञ्चालन गरिरहेको छ । सेवा विस्तार गरेसँगै अस्पतालको सेवा लिने सेवाग्राहीको चाप झन् बढ्दो छ।

अहिले दैनिक दुई सयभन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेवा लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछापसहित छिमेकी जिल्ला ओखलढुङ्गा, दोलखा र सिन्धुलीका नागरिकले सेवा लिँदै आएका छन्। गोरखापत्रबाट

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया