‘फाइभजी चाहिन्छ तर यसको पूर्वाधारको लागत महँगो भयो’ -नेपाल टेलिकमका एमडी पहाडी

Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक (एमडी) संगिता पहाडीले छिमेकी मुलुकमा आर्थिक तथा सामाजिक रुपमा फाइभजी परिपक्क नभएको बताएकी छिन्।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलनमा शुक्रबार एमडी पहाडीले फाइभजीका सन्दर्भमा छिमेकी मुलुकको अवस्था मूल्यांकन गर्दा आर्थिक तथा सामाजिक रुपमा परिपक्क नभएको पाइएको बताइन्।

‘आईटीयूको तथ्यांक हेर्दा पनि युरोप र एशिया प्यासफिक क्षेत्रमा डाटाको आवश्यकतामा धेरै भिन्नता छ। युरोपमा ९२ प्रतिशतभन्दा धेरै छ,’ पहाडीले भनिन्, ‘एशिया प्यासफिक क्षेत्रमा ३८ प्रतिशत मात्रै छ। त्यसमा पनि नेपाल र अन्य दक्षिण एशियाली मुलुकमा कम छ।’

फाइभजी चाहिने तर यसको पूर्वाधारको लागत महँगो भएको उनी बताउँछिन्। फाइभजी विकास गर्न सरकारले देशको भौतिक विकास पनि गर्नुपर्ने उनको बुझाइ छ। फाइभजीको विकास र पूर्वाधार विकास सँगसँगै अघि बढाउनु पर्ने उनको भनाइ छ।

तर यस सन्दर्भमा फाइभजी नचाहिने भन्ने आफ्नो धारणा नरहेको स्पष्ट पार्न खोज्दै उनले भनिन्, ‘सम्भवत महानगरपालिका र शहरी क्षेत्रमा हामी चाँडै फाइभजी ल्याउन सक्छौं। तर त्यसका लागि प्राधिकरणबाट फ्रिक्वेन्सी स्वीकृति फर्खिरहेका छौं। फाइभजीका लागि कुन फ्रिक्वेन्सी उपयुक्त हुने स्पष्ट भएपछि अघि बढ्ने छौं।’

प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि नेपाल टेलिकमलाई २६ सय ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको थियो। यस अन्तर्गत कम्पनीले काठमाडैंका बबरमहल, सुन्धारा तथा वीरगन्ज र पोखरा लगायत स्थानमा फाइभजी उपकरण जाडन गरेर आन्तरिक रुपमा परीक्षण गरिरहेको जनाउँदै आएको छ। तर हालसम्म आमउपभोक्ताले उपयोग गर्न सकिने फाइभजी सेवा उपलब्ध भने गराइएको छैन।

उक्त फ्रिक्वेन्सी सरकारले परीक्षण अवधि सकिएसँगै फिर्ता लगिसकेको छ। तर टेलिकमले गरेको फाइभजी परीक्षणको नतिजा हाल सार्वजनिक गरिएको छैन्।

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया