नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोज्ने प्रक्रियामा जुट्यो सञ्चार मन्त्रालय

Technology Khabar २ जेष्ठ २०८१, बुधबार

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।

भ्रष्ट्राचारको मुद्दामा तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतले दोषी ठहर गर्दै जरिवानासहित कैद सजाय तोकेसँगै नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने बाटो खुल्ला भएको हो।

नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न मन्त्रालयले दरखास्त आवेदन माग गर्ने तयारी गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहप्रवक्ता विशाल सापकोटाले टेक्नोलोजीखबरलाई जानकारी दिए।

‘नेपाल टेलिकम दूरसञ्चार क्षेत्रको ठूलो संस्था हो। लामो समयसम्म संस्थालाई निमित्तको भरमा सञ्चालन गर्नु राम्रो हुँदैन,’ सापकोटाले भने, ‘कानुनी रुपमा नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने बाटो खुल्ला भइसकेको छ।’

मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै उनले जति सक्दो छिटो सार्वजनिक सूचना प्रकाशित गरेर दरखास्त आवेदन माग गरिने बताए।

टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक हुँदा राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ भदौ ३० गते मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दा दायर गरेसँगै पौडेल निलम्बनमा परेका थिए।

टेलिकमको प्रबन्ध निर्देशक निलम्बनमा परेपछि सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले मन्त्रीस्तरिय निर्णय गर्दै २०७९ असोज १७ गते कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो।

गत वैशाख २५ गते विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमिता गरेको ठहर गर्दै निलम्बित प्रबन्ध निर्देशक पौडेललाई ९ वर्षको कैदको फैसला गरेको थियो।

अदालतको फैलसासँगै पौडेलको नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पद गुमेको थियो।

प्रकाशित: २ जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया