डिफल्ट सर्च इञ्जिनका लागि एप्पलसँग गुगलले २० बिलियन डलरको सम्झौता गरेको जानकारी

  • Technology Khabar | २३ बैशाख २०८१, आईतवार
डिफल्ट सर्च इञ्जिनका लागि एप्पलसँग गुगलले २० बिलियन डलरको सम्झौता गरेको जानकारी

काठमाडौं ।

गुगल विरुद्ध यूएस डिपार्टमेन्ट अफ जस्टिस (डीओजे) को चलिरहेको एन्टिट्रष्ट (अविश्वास) मुद्दाले सन् २०२२ मा गुगलद्वारा एप्पललाई गरिएको २० बिलियन डलर भुक्तानीको रोचक जानकारी उजागर गरेको छ।

ठूलो रकम भुक्तानीले कथित रूपमा आईफोन, आईप्याड र म्याक्समा एप्पलको सफारी ब्राउजरमा डिफल्ट (पूर्वनिर्धारित) सर्च इन्जिनको रूपमा गुगलको स्थानलाई सुरक्षित गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ।

हालै जारी गरिएको अदालतको दस्तावेजबाट यो खुलासा भएको जनाइएको छ। सन् २००२ देखि धेरै पटक वार्ता गरेतापनि एप्पल डिभाइसहरूमा गुगल पहिलो पटक डिफल्ट सर्च इन्जिन भएदेखि गुगल र एप्पलले ऐतिहासिक रूपमा यस सम्झौताका सर्तहरू लुकाएर राखेको आरोप छ।

गत वर्ष दायर गरिएको एक मुद्दाले एप्पललाई गुगलले गरेको भुक्तानीले एप्पलको कुल सफारी राजस्वको ३६ प्रतिशत हिस्सा ओगटेको देखिएको छ। साथै, उक्त रकम आश्चर्यजनक रुपमा २० बिलियन डलर भएको भन्ने पुष्टि पनि भएको उल्लेख गरिएको छ।

यो सम्झौताले माइक्रोसफ्ट जस्ता प्रतिस्पर्धीहरूबाट आलोचना बेहोरेको छ। माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले यो सम्झौताले ‘बिङ्ग’ जस्ता सर्च इन्जिनका लागि प्रतिस्पर्धालाई रोक्ने दाबी गरेका छन्। यसबाहेक, एप्पलले बिंगलाई पूर्वनिर्धारित रूपमा अपनाउनका लागि भनेर माइक्रोसफ्टले पहिले असफल प्रयास गरेको उनले थप खुलासा गरेका छन्।

यद्यपि, एप्पलले भने आफ्नो रोजाइको बचाउ गरेको छैन। अदालतको बयानमा, एप्पलका एडी क्युले गुगलसँग “गुणवत्ता र कार्यक्षमता” मा मेल खाने बिंगको क्षमताको बारेमा चिन्ता व्यक्त गरेको जनाइएको छ। गुगलले आफ्ना प्रयोगकर्ताहरूको लागि “उत्तम” सर्च एक्सपिरियन्स (अनुभव) प्रदान गर्दछ भन्ने एप्पलको विश्वास रहेको क्युले बताएका छन्।

यस सम्झौताको भविष्य अब डीओजे मुद्दामा निर्भर हुने उल्लेख छ। मुद्दाको बारेमा न्यायाधीशका तर्फबाट हुने अन्तिम निर्णय २०२४ भित्रै कुनै पनि समयका लागि अपेक्षित गरिएको छ। यदि गुगलले मुद्दा हारेको खण्डमा भने एप्पलसँगको सम्झौता रद्द हुन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार