भाटभटेनी अनलाइन डटकमलाई ईसेवाले किन्यो, ईसेवा अब अनलाइन सपिङमा

Technology Khabar २१ जेष्ठ २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ ।

विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनीअनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्यसाथ एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए ।

‘भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवा पसल डटकममा सञ्चालन गर्छौं, त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं,’ उनले भने ।

ईसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे।

‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । एफवान सफ्टसँगको सहकार्यले हामी यसले धेरै अगाडी बढाउनेछौं । आउँदा वर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं,’ उनले भने ।

एक्वायरपछि ईसेवालगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

साथै ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्थासमेत गरिएको कम्पनीले जानकारी दिएकोछ । ईसेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ । साथै कम्पनीले अधिकतम २४ घण्टा भित्र निशुल्क डेलिभरी गर्नेे दाबी गरेको छ ।

सन् २००४ बाट सञ्चालनमा आएको एफ वान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा विक्रीवितरण गर्दै आएको छ । कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको जनाएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया