Technology Khabar २५ चैत्र २०८०, आईतवार
काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्।
नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको जानकारी दिए।
आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत प्राथमिकता तय गर्दा नेपालको भू–राजनीतिक अवस्थिति, तुलनात्मकरुपमा सम्भाव्य र लाभका क्षेत्र हेरिने उनको भनाइ छ। जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने अर्थमन्त्री पुनले बताए।
उनले नेपाल जस्तो भूपरिवेष्ठित देशमा सूचना प्रविधि निर्यातको प्रचुर संभावना रहेको भन्दै यसलाई प्राथमिकतामा राखिएको बताए।
“आईसीटी निर्यात गर्न समुन्द्र पनि चाहिँदैन, पोर्ट पनि चाहिँदैन, भन्सार कार्यालयपनि चाहिँदैन्”, अर्थमन्त्रीले भने, “यसलाई प्रोत्साहन दिने र प्राथमिकता दिएर हजारौं रोजगारी सिर्जना गर्न र निर्यात बढाउन सकिन्छ।”
यसैगरी पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले वास्तविक तथ्याङ्कलाई विश्लेषण गरेर बजेट ल्याइनुपर्ने बताए।
प्रकाशित: २५ चैत्र २०८०, आईतवार