काठमाडौं ।
नेपालगञ्ज जिल्ला स्थित कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थित रूपमा रहेका केबुल तारहरू हटाउन सुरु गरिएको छ।
नगरका विभिन्न स्थानमा तारहरू झुल्लिएका र लत्रिएका रहेको र पोलहरूमा रहेका तारहरू पनि अव्यवस्थित रूपमा गुजुल्टिएकाले हटाउन सुरु गरिएको हो।
कोहलपुर नगरपालिकाका प्रहरी प्रमुख वीर बहादुर थापाकाअनुसार कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडी क्षेत्रबाट केबुल तार व्यवस्थापन अभियान सोमबारबाट सुरु गरिएको हो।
नगरपालिकाले गत वर्ष पनि अव्यवस्थित रूपमा रहेका केबुल तारहरू हटाएको थियो। गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्री सहरका तारहरू हटाउन लागिएको हो।
नगरपालिकामा केबुल तार व्यवस्थापन मापदण्ड छ। जसअनुसार विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तारभन्दा दुई फिट मुनि र साढे तीन फिटबिच भागमा मात्र तार जडान गरी लाइने तान्नु पर्छ। फाइवर नेटवर्क सञ्जालले आआफ्नो फाइवर केबुलको डिवि बक्स रहेको पोलमा ट्याकिङ चिह्न लगाउनु पर्छ। पोलमा रहेको तार गुच्छासम्बन्धी संस्थाले सकेसम्म सानो बनाइ व्यवस्थित गरिनु पर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनु पर्छ। यस बाहेक पोलमा रहेका पुरानो कामविहीन तारहरू सम्बन्धित संस्थालेनै हटाउनु पर्नेछ।
केबुल तार व्यवस्थापनका लागि चैत १४ गते सम्बद्ध सरोकारवालाहरूको बैठकले तार व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबुल नेटवर्क, जनप्रतिनिधिसहितको बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तारहरू व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ।
प्रकाशित: २३ चैत्र २०८०, शुक्रबार