Technology Khabar २५ फाल्गुन २०८०, शुक्रबार
काठमाडौं ।
इलेक्ट्रिक सवारी निर्माता कोमाकीले भारतमा फ्लोरा इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। फ्लोरा इलेक्ट्रिक स्कुटर कयौं महत्वपूर्ण अपडेटका साथ पून लन्च गरिएको हो।
नयाँ स्कुटरको मूल्य ६९ हजार भारु तोकिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। नयाँ कोमाकी फ्लोरा इलेक्ट्रिक स्कुटरमा लिथियम आयन फेरो फोस्फेट डिट्चेबल ब्याट्री प्याक दिइएको छ। ब्याट्रीलाई आवश्यकता अनुसार बाहिर निकालेर पनि चार्ज गर्न सकिन्छ।
साथै ब्याट्रीको तौल तुलनात्मक रुपमा हल्का रहेको बताइएको छ। यसले फ्लोरा इलेक्ट्रिक स्कुटरलाई चार्ज गर्न सहज बनाउँछ। स्कुटरले फुल चार्जमा ८५ देखि १०० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
अपडेटेड फ्लोरा इलेक्ट्रिक स्कुटरमा नयाँ ड्यासबोर्ड, सेल्फ डायग्रोनिस्टिक मिटर, पार्किङ तथा क्रूज कन्ट्रोलका साथ पछाडि सवार गर्नेका लागि ब्याकरेस्ट तथा बूट स्पेसका साथ आरामदायक सिट दिइएको छ।
फ्लोराको नयाँ इलेक्ट्रिक स्कुटरको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ। कोमाकी फ्लोरा इलेक्ट्रिक स्कुटर आधुनिक फिचर्सका साथ उपलब्ध छ।
यसका साथै कोमाकी फ्लोरा इलेक्ट्रिक स्कुटरमा कम्पनीले हिट प्रुफ ब्याट्री टेक्नोलोजी उपयोग गरेको छ। यसले आगलागीको खतरालाई कम गर्ने विश्वास लिइएको छ। स्कुटर दैनिक उपयोगको आवश्यकतालाई मध्यनजर गरेर डिजाइन गरिएको छ।
कोमाकी फ्लोरा इलेक्ट्रिक स्कुटर जेट ब्ल्याक, गार्नेट रेड, स्टिल ग्रे र स्याक्रामेन्टो ग्रिन कलर विकल्पमा उपलब्ध छ।
प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार