
काठमाडौं ।
मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बिदा बस्न निर्देशन दिईएको छ। उनलाई आजैबाट लागू हुने गरी बिदा बस्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौखिक निर्देशन दिएको प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतले बताएको छ।
उनको बारेमा पछिल्लो समय निकै विवादित समाचारहरु आउन थालेसँगै बिदामा बस्न भनिएको स्रोतले दाबी गरेको छ।
यस्तै अर्को दोस्रो स्रोतले भने उनलाई राजीनामानै गर्न सुझाब दिईएको बताएको छ। “अख्तियारले पनि राजीनामा गर्न दबाब दिएको छ भने प्रधानमन्त्रीले पनि राजीनामा दिन सुझाब दिनुभएको छ,” स्रोतले भन्यो।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले यो विषयमा जानकारी नभएको बताए। “यस बारेमा हामीलाई थाहा छैन्। सचिवालयमा केहि जानकारी छैन्,” उनले टेक्नोलोजीखबरलाई भने।
केहि दिनअघि कान्तिपुरले उनी र भ्रष्टाचारमा मुछिएका तथा हाल थुनामा रहेका विकल पौडेलसँग आर्थिक कारोबार गरेको प्रमाणसहितको समाचार सार्वजनिक गरेको थियो।
उक्त समाचारमा पटक पटक विकलसँग तेस्रो व्यक्तिमार्फत रकम लिएको प्रमाणित कागजातहरु समेत प्रकाशित गरिएको छ।
यसअघि उनी संचार सचिव हुँदा समेत पटक पटक विवादमा परेका थिए।
उनी टेरामोसका साथसाथै नेपाल टेलिकमको बिलिङ्ग खरिद प्रकृयाको विषयमा तथा तत्कालिन एमडी सुनिल पौडेलको पक्षमा लबिङ्ग गर्न समेत सक्रिय भएका थिए।
सम्बन्धित समाचार-
नेपाल टेलिकमको बिलिङ्ग सिस्टममा करोडौं चलखेलको आशंका, सेटिङ्गमा पुरानो बिलिङ्ग सिस्टम प्रयोग
अहिलेकै सरकारले २०८० जेठ ३२ गते उनलाई मुख्य सचिव बनाएको थियो।
अर्याल त्यसबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवको रुपमा कार्यरत रहेका थिए। यसअघि उनी असार २ गते अवकाश हुने योजनामा थिए तर अचानक उनी मुख्य सचिव बनेका थिए।
उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत रहँदै उनलाई प्रधानमन्त्री कार्यालय तानिएको थियो।
सम्बन्धित समाचार-
सञ्चार मन्त्रालयमा हुँदा विवादित रहेका डा. बैकुण्ठ अर्याल सरकारको मुख्य सचिवमा नियुक्त
उनी सञ्चार मन्त्रालयमा रहँदा नेपाल टेलिकम र सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी नियुक्त गर्ने समयमा विवादमा परेका थिए।
यसैगरी मन्त्रालयको सचिव हुँदा टेलिकमका प्रबन्ध निर्देशक सुनिल कुमार पौडेलको बचाउमा लागेको भन्दै त्यसबेला चर्को विरोध समेत भएको थियो।
सम्बन्धित समाचार-
जब सञ्चार सचिव अर्यालले नेपाल टेलिकमका एमडी पौडेलको बचाउ गर्न रेष्टुरेन्टमा भेला बोलाए…
उनकै कार्यकालयमा सूरक्षण मुद्रण केन्द्रका कार्यकारी नियुक्त भएका विकल पौडेल हाल भ्रष्ट्राचारको मुद्दा खेपिरहेका छन्। उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले केन्द्रको काममा ठेक्का लगाउँदा भ्रष्ट्राचार गरेको भन्दै ६९ करोड ८ लाख बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यस बाहेक नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई २०८० माघ १० गते बुधबार पक्राउ गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ।
नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको आरोपमा अख्तियारले उनीहरु माथि अनुसन्धान गरिरहेको छ।
अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको पनि देखिएको छ।
यस बाहेक मुख्यसचिव अर्याल टेरामोस प्रकरणमा समेत मुछिएका छन्। जसको बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ र केहि दिनभित्रै मुद्दा अदालतमा लाने तयारीमा रहेको छ।
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार