
काठमाडौं ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि बुटबलसम्म विद्युतीय माइक्रो बस सञ्चालन भएपछि यसतर्फ यात्रुको आकर्षण बढेको छ। नयाँ, सफा र चिटिक्क परेका १० देखि १२ सिटे विद्युतीय जिपले यात्रुलाई आकर्षित गरेका छन्।
डिजेल/पेट्रोलबाट चल्ने गाडीभन्दा सस्तो र सहज हुने भएकाले यात्रुको रोजाइमा विद्युतीय गाडी परेको छ। सन्धिखर्क बुटबल चल्ने हाइस गाडीको भाडा छ सय रुपियाँ छ तर विद्युतीय जिपले ४८० रुपियाँमा लैजान्छ।
इन्धनबाट चल्ने गाडीभन्दा साना आकारका भएकाले पनि यात्रुको रोजाइमा विद्युतीय गाडी परेका हुन्। इन्धनको गाडीमा वान्ता गर्ने यात्रुले विद्युतीय गाडीमा यात्रा गर्न थालेका छन्। सन्धिखर्कदेखि बुटबल हिँडेकी पवित्रा बिकले भनिन्, “मलाई गाडी चढ्नेबित्तिकै बान्ता हुन्छ, गाडीको धुवाँ गनाउँछ तर यसमा आनन्द हुँदो रहेछ। आवाज पनि छैन, धुवाँ पनि छैन। नयाँ गाडी राम्रो लाग्यो। पैसा पनि सस्तो रहेछ।”
खनदह, असुरकोट, ढाकाबाङबाट सन्धिखर्क हुँदै बुटबलसम्म दैनिक बिद्युतीय गाडी चलिरहेको अर्घा भगवती यातायातका अध्यक्ष केबी भुसालले जानकारी दिए। उनका अनुसार विद्युतीय गाडीमा पहाडको सडकमा प्रतिकिलोमिटर छ र तराईमा प्रतिकिलोमिटर तीन रुपियाँका दरले भाडा निर्धारण गरिएको छ।
अध्यक्ष भुसालले भने, “पहाडको घुम्ती सडकमा इन्धनबाट चल्ने गाडीको गन्ध र आवाजका कारण यात्रुले बान्ता गर्छन उनीहरूलाई गाडी लाग्छ। विद्युतीय गाडीमा भने आवाज, गन्ध केही हुँदैन। सिट क्षमताभन्दा थप यात्रु पनि हुँदैनन्। यात्रा आरामदायी हुने भएकाले मान्छेको चासो बढेको छ।”
गाडीमा जिपिएस जडान गरिएकाले गाडी पुगेको स्थान र अवस्थाबारे जानकारी लिन सकिन्छ। गाडीमा फ्री वाईफाई र सिसिटिभीको व्यवस्था छ। हाल अर्घा भगवती यातायातले १५ र परिनम नेपाल यातायातले चार ओटा विद्युतीय गाडी सञ्चालन गरेका छन्। सन्धिखर्कको बसपार्क र सीतगङ्गा नगरपालिकाको भेडामारेमा मार्जिङ स्टेसन राखिएको छ। गोरखापत्रबाट
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार