Technology Khabar १४ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
टेरामोस (वा टेरामोक्स समेत भनिने) काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दोषी प्रमाणित भए आफूले राजीनामा दिने बताएका छन्।
सोमबार संसदबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले टेरामोक्स प्रकरणमा दोषी प्रमाणित भए राजीनामा दिन तयार भएको बताएका हुन्।
‘दोषी देखिए राजीनामा गर्नुपर्छ,’ मन्त्री बस्नेतले भने, ‘अरु कानुनी कारबाही भोग्नु पर्छ।’
टेरामोक्स कल बाईपास गरेर खानेहरुका विरुद्ध आएको नीति हो भनेर दोषी प्रमाणित गर्ने हो वा होइन भनेर उल्टाउने हो भने यो नियन्त्रण गर्ने विधि के हो भनेर उनले पत्रकारहरुलाई नै प्रश्न गरे।
साथै उनले आफूले टेरामोसका सम्बन्धमा कुनै गल्ती नगरेको र राष्ट्रका लागि लडेको दाबी गरे।
संसारभर टेरामोक लागू भएको उनको तर्क छ। फ्रर्ड कन्ट्रोल र कल बाईपास गरेर घोटाला गर्ने सम्बन्धमा सारा देशहरुमा नियन्त्रण भएको उनको दाबी छ। यो देशमा मात्र किन नियन्त्रण नभएको भन्ने उनको प्रश्न छ।
साथै उनले मिडियाहरुले एनसेललाई ढाकछोप गर्न टेरामोसको विरोध गरेको आरोप लगाए।
‘यो एनसेलको फण्डाबाज हो। यस विषयमा सीआईबीले पनि यति पैसा घोटाला भएको छ भनेर प्रतिवेदन दिएको छ। आजियाटाले जति पनि देशमा काम गरेको छ। सबै ठाउँमा नाफा छ,’ उनले भने, ‘नेपालमा आजियाटाको कोभिडको समय बाहेक हरेक वर्ष ग्राहक बढेको छ। तर आम्दानी घटाइरहेको छ।’
अहिले फेरी भीओआईपी प्रकरण सुरु भइसकेको उनको भनाई छ। आफू सञ्चार मन्त्री हुँदा रुवेल चौधरी लगायत थुनिएको र कारबाही भएको उनको दाबी छ। त्यसैले त्यसलाई नियन्त्रण गर्नुपर्छ राजश्व संकलन गर्नुपर्छ भन्नका लागि टेरामोसका लागि सहमति दिएको उनको भनाइ छ।
टेरामोस काण्डमा मुछिएका स्वास्थ्य मन्त्री बस्नेतलाई तत्कालिन संचारमन्त्रीको भूमिका र निर्णय प्रकृयामा सहभागी भएको विषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो। यसका साथै अर्का पूर्व संचार मन्त्री ज्ञानेन्द्र कार्कीसँग समेत बयान लिएको थियो।
टेरामोस काण्डको बारेमा अख्तियारले हाल छानबिन गरिरहेको छ।
प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार