Technology Khabar १४ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
नेपालमा राउटरको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार एक अर्ब ५४ करोड ३९ लाख ४ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
यस अवधिमा ४ लाख ७१ हजार २७३ यूनिट राउटर आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तमा एक अर्ब ७७ करोड १५ लाख ४२ हजार रुपैयाँ बराबरको ४ लाख ६९ हजार ३४ यूनिट राउटर आयात भएको थियो।
गत आर्थिक वर्षको माघ मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राउटरको आयात २२ करोड ७६ लाख ३८ हजार रुपैयाँ अर्थात १२.८४ प्रतिशतले घटेको छ।
यस्तै गत वर्षको तुलनामा चालु आवमा राउटरको आयात भने २ हजार २३९ यूनिटले बढेको छ।
सरकारले राउटर आयातबाट २८ करोड ८१ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा १४ मुलुकबाट राउटर आयात हुने गरेको देखिन्छ।
चीनबाट एक अर्ब ५३ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको ४ लाख ७० हजार ७२२ यूनिट राउटर आयात भएको छ।
बाँकी १३ मुलकबाट ७२ लाख ५ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार