Technology Khabar ७ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
– निर्दोष घोरसाईने
मद्रास सेक्युरिटी प्रिन्टर्सको सिस्टमले नयाँ स्मार्ट कार्ड नचिन्दा सवारी चालक अनुमति पत्र (ड्राइभिङ) लाइसेन्स प्रिन्ट हुन नसकेको पाइएको छ।
यातायात व्यवस्था विभागले लाइसेन्सको बढ्दो मागलाई पूर्ति गर्न आयात गरेको ६ लाख स्मार्ट कार्ड मद्रास सेक्युरिटी प्रिन्टर्सको सिस्टमले नचिन्दा प्रिन्ट हुन सकेको हो।
नयाँ स्मार्ट कार्ड मद्रास सेक्युरिटी प्रिन्टर्सको सिस्टममा पर्सनलाईज (लाइसेन्स प्रयोगकर्ताको व्यक्तिगत विवरण) नहुँदा लाइसेन्स प्रिन्ट हुन नसकेको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए।
‘लाइसेन्स प्रिन्ट गर्न ६ लाख कार्ड आयात भइसकेको छ। सिस्टममा कार्ड पर्सनलाईज हुन नसक्दा प्रिन्ट हुन सकिरहेको छ,’ पनेरुले भने, ‘सिस्टम आपूर्तिकर्ता मद्रासले पर्सनलाईजको काम गरिरहेको छ।’
केही दिन भित्रमा पर्सनलाईज प्रक्रिया पुरा हुने र ल्याएका लाइसेन्स कार्डहरु प्रिन्ट हुने उनले विश्वास व्यक्त गरे।
विभागले १२ लाख स्मार्ट कार्ड खरिदका लागि गत वर्ष माघमा जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस (जीएमबीएच)सँग १४ लाख ९८ हजार ८० डलरमा सम्झौता गरेको थियो।
उक्त सम्झौता अनुसार जर्मन कम्पनीले गत माघमा पहिलो चरणमा ६ लाख स्मार्ट कार्ड विभागलाई उपलब्ध गराएको थियो। नयाँ स्मार्ट कार्ड विभागमा आएको महिना दिन बित्दा पनि अझैसम्म छपाई हुन सकेको छैन्।
नयाँ स्मार्ट कार्डबाट लाइसेन्स छपाई हुन नसक्दा र विभागसँग कार्डको मौज्दात कम हुँदा अहिले अत्यावश्यक सेवाग्राहीलाई मात्र लाइसेन्स वितरण भइरहेको छ।
हाल लाइसेन्सको प्रतिक्षामा करिब १३ लाख सेवाग्राही रहेको विभागले जानकारी दिएको छ।
विभागले २०७२ सालमा स्मार्ट लाइसेन्स पहिलो पटक जारी गर्दा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग लाइसेन्स र सिस्टमका लागि सम्झौता गरेको थियो। तत्कालीन समयमा मद्रासले उपलब्ध गराएको कार्डमा मद्रासकै सिस्टमबाट प्रिन्ट गरेर लाइसेन्स वितरण गरिएको थियो।
पछिल्लो समय भने विभागले बोलपत्र मार्फत कार्ड अन्य कम्पनीसँग किन्दै आइरहेको छ।
प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार