Technology Khabar १ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
छोटो भिडियो प्लेटफर्म टिकटकले सरकारलाई पाँच बुँदे प्रतिबद्धा पत्र बुझाउँदै प्रतिबन्ध खुल्ला गर्न आग्रह गरेको छ। प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले पाँच बुँदे प्रतिबद्धता पत्र बुझाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ।
सामाजिक संजाल प्लेटफर्म टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले कार्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाएको थियो।
टिकटकले हालै मन्त्रालयलाई पठाएको पत्रमा विश्वव्यापी प्लेटफर्म भएकाले प्रयोगकर्ता र प्लेटफर्मको सूरक्षा महत्वपूर्ण भएको उल्लेख गरेको छ।
प्रयोगकर्ता र प्लेटफर्मको सुरक्षाका लागि कम्पनीको आफ्नै कम्युनिटी गाइडलाइन पनि भएको बताएको छ।
टिकटक माथिको प्रतिबन्ध हटाइए नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेन टिकटकको दाबी छ। यस्तै, सामग्री (कन्टेन्ट) सम्बन्धित सरोकारहरू सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङ पहुँच र समर्पित फोकल प्वाइन्ट (केन्द्र बिन्दु) प्रदान गर्ने पनि टिकटकले मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ।
सामग्री फिल्टरिङ र मध्यस्थता बढाउन थप नेपालीभाषी स्रोतहरू नियुक्ति गर्ने पनि टिकटकले वाचा गरेको छ।
यसका साथै, राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान पनि नेपालमा सुरु गर्ने टिकटकले पत्रमा उल्लेख गरेको छ।
प्रतिबन्ध हटाइएमा हाई स्कूल र कलेज विद्यार्थीहरूको लागि शैक्षिक नतिजा सुधार गर्न शैक्षिक सामग्री डिजिटलाइज गर्ने पनि टिकटकले सरकार समक्ष प्रतिबद्धता जाहेर गरेको छ।
प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार