टिकटक बन्द भए/नभएको जानकारी नदिने २४ इन्टरनेट सेवा प्रदायक कारबाहीमा

  • Technology Khabar | २१ माघ २०८०, आईतवार
टिकटक बन्द भए/नभएको जानकारी नदिने २४ इन्टरनेट सेवा प्रदायक कारबाहीमा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले २४ ओटा इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरेको छ। प्राधिकरणले सर्ट भिडियो सेयरिङ एप टिकटक बन्द भएको वा नभएको जानकारी नगराउने २४ इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरेको हो।

सामाजिक संजाल प्लेटफर्म टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले गत कार्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाएको थियो।

सरकारले टिकटक माथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै उक्त निर्णयको कार्यान्वयन गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणले कात्तिक २८ गते टिकटकको पहुँचमा तत्काल रोक लगाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो।

‘तर केही सेवा प्रदायकको नेटवर्कमा टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएको’ भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकहरुलाई निर्देशन दिइएको थियो।

साथै प्राधिकरणको निर्देशन/आदेशको पाना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकहरुले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने चेतावनी दिइएको थियो।

टिकटक बन्दको अवस्था र टिकटक पूर्ण रुपमा बन्द गर्न के कस्ता उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ? सो समेत अध्ययन गरी प्रतिवेदन पेश गर्न प्राधिकरणबाट मंसिर १ गते गठित उपसमितिले टिकटको पहुँच र प्रयोगमा रोक लागउने प्राधिकरणाको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन नआएको सन्दर्भमा २४ घण्टा भित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन सार्वजनिक सूचना समेत प्रकाशन गरेको थियो।

उक्त समयावधि भित्र पनि टिकटकको पहुँच/प्रयोगमा रोक लगाउने निर्देशन कार्यान्वयन गरेको भनी जानकारी नगराउने इन्टरनेट सेवा प्रदायकहरुलाई दूरसञ्चार ऐन, २०५३ को दफा(१) तथा दफा ४७(२) अनुसार किन कारबाही नगर्ने? भनी १५ दिनको समयावधि दिई स्पष्टिकरण माग गर्न व्यवस्थापनलाई निर्देशन दिनका लागि यहि माघ ७ गते उपसमितिले निर्णय गरेको हो।

प्राधिकरणले तोकिएको समय भित्रमा टिकटकको पहुँच/प्रयोगमा रोक लगाउने निर्देशन कार्यान्वयन नगरेको भनेर काठमाडौं उपत्यका लगायत देशका अन्य क्षेत्रमा सेवा प्रवाह गरिरहेका इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको हो।

हाल ति सेवा प्रदायकहरुलाई स्पष्टिकरण सोधिने र उक्त स्पष्टिकरण प्राप्त भएसँगै थप कारबाही हुने बताईएको छ।

कारबाहीमा पर्ने सेवा प्रदायकहरुको सूची यस्तो छ:

सि नं.कारबाहीमा पर्ने सेवा प्रदायकहरुको नाम (इन्टरनेट सर्भिस प्रोभाइडर्स-आईएसपी)
बशिष्ठ केबल नेट प्रा. लि., सुन्दर हरैंचा नगरपालिका-१२, मोरङ
सी. डाटा कम्युनिकेसन प्रा. लि., वीरगन्ज महानगरपालिका-१६, नागवा, पर्सा
चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि, आठौं तल्ला, माधुरी सदन रविभवन, काठमाडौं
क्लीन नेटवर्क प्रा. लि. लहान नगरपालिका-०६, सिरहा
डिभाइन स्ट्रिम नेटवर्क प्रा. लि., बत्तीसपुतली, काठमाडौं
डल्फिन नेट कम्युनिकेसन प्रा. लि वीरगन्ज महानगरपालिका-११, श्रीपुर, पर्सा
ई लिंक नेट प्रा. लि., इटहरी उप-महानगर पालिका-६, इटहरी, सुनसरी
एभरेष्ट लिंक प्रा. लि., पाण्डोल मार्ग, बालुवाटार, काठमाडौ
गण्डकी कम्युनिकेसन प्रा. लि., भीमसेन चौक, पोखरा, कास्की
१०गोरेटो कम्युनिकेसन प्रा. लि. पोखरा उपमहानगरपालिका २, कास्की
११हक नेट प्रा. लि वीरगन्ज महानगरपालिका-४, पर्सा
१२इनोभेटिभ कम्युनिकेसन्स सिस्टम प्रा. लि., काठमाडौ महानगरपालिका-३२, तिनकुने, काठमाडौ
१३जानकी नेट लिंक प्रा. लि जनकपुरधाम उपमहानगरपालिका- ०९, धनुषा
१४कालिका नेट प्रा. लि., चापाकोट नगरपालिका ०९, स्याङ्जा
१५ग्रुप नेटवर्क लिमिटेड, काठमाडौं महानगरपालिका-१४, कुलेश्वर, काठमाडौं
१६मेटा लिंक प्रा. लि., गोकर्णेश्वर – ५, काठमाडौं
१७नेपाल वायरलेस, राम्चे, म्याग्दी
१८नेट म्याक्स टेक्नोलोजी प्रा. लिमिटेड, अनामनगर, काठमाडौं
१९सारथी कम्युनिकेसन्स नेटवर्क प्रा. लि. महाकाली नगरपालिका-४, दार्चुला
२०सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रा. लि. चन्दननाथ नगरपालिका-६, जुम्ला
२१सिम्पल मिडिया नेटवर्क प्रा. लि सानेपा २, ललितपुर
२२टेलनेट इन्टरनेट प्रा. लि. पोखरा महानगरपालिका-८, सिमलचौर, कास्की
२३वेब नेटवर्क प्रा. लि., तिलोत्तमा नगरपालिका-४, डाइभरटोल, रुपन्देही
२४वाइफाइ एचडी नेपाल प्रा. लि., बालुवाटार, काठमाडौं

यसमध्येको बशिष्ठ केबल नेट प्रालिको अनुमति पत्र स्वत खारेजीमा परेको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्रकाशित: २१ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...