
काठमाडौं ।
बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाको ४ नम्बर वडास्थित बैजापुर गाउँमा सिसी क्यामरा जडान गरी सुरक्षा निगरानी गर्न सुरु गरिएको छ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ कार्यालयले दुई लाख रुपियाँ लगानीमा सिसी क्यामराबाट सुरक्षा निगरानी गर्न सुरु गरेको वडाध्यक्ष मिनराज खड्का (सन्तोष) ले जानकारी दिए।
वडा नं. ४ को बैजापुर चोक, चोकबाट दक्षिणतर्फ नरैनापुर गाउँपालिका जाने बाटो, उत्तरतर्फ ३ नम्बर वडा कार्यालय जाने बाटो, पश्चिमतर्फ ५ नम्बर वडा कार्यालय जाने बाटोमा सिसी क्यामरा राखिएको छ।
वडाध्यक्ष खडकाले वडा कार्यालयको बाहिरी फेरामा सिसी क्यामरा जडान गरी सुरक्षा निगरानी सुरु गरिएको बताए। सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण गर्न, चोरी तस्करी रोक्न, आपराधिक गतिविधिलाई नियन्त्रण गरी वडाभित्र शान्तिसुरक्षा कायम गर्न सिसी क्यामराबाट सहयोग पुग्ने उद्देश्यले क्यामराबाट सुरक्षा निगरानी सुरु गरिएको उनले जानकारी दिए। जडान गरिएका क्यामरा उच्च प्रविधियुक्त रहेको उनले बताए।
उनका अनुसार वडा कार्यालयले तत्कालका लागि अहिले पाँच ओटा क्यामरा जडान गरेको छ। वडाध्यक्ष खड्काले भित्री तथा बाहिरी क्षेत्रका क्यामरालाई वडा कार्यालयले र बाहिरी क्षेत्रका क्यामरालाई इलाका प्रहरी कार्यालय धामपुर बैजापुरले निगरानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
प्रकाशित: ८ माघ २०८०, सोमबार