
काठमाडौं ।
– निर्दोष घोरसाइने
नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लिएको लाइसेन्स परीक्षामा आधा भन्दा बढी परीक्षार्थी फेल भएका छन्।
परिषदले गत मंसिर २२ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको इन्जिनियर व्यवसायी दर्ता लाइसेन्स परीक्षमा सहभागी ५ हजार ८२१ परीक्षार्थी मध्ये २ हजार ७४६ जना मात्र पास भएका हुन्।
लाइसेन्स परीक्षामा सहभागी मध्ये कुल ४७.१७ प्रतिशत मात्र परीक्षार्थी पास भएका छन्।
इन्जिनियर व्यवसायी दर्ता लाइसेन्स परीक्षामा सहभागी हुनका लागि ६ हजार ६८ जनाले फारम भरेकोमा २४७ जना भने परीक्षामा उपस्थित भएका थिएन्।
परिषदको नजिता अनुसार विदेशी विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेर आएका परीक्षार्थीहरुको अवस्था एकदम नाजुक देखिएको छ।
विदेशबाट अध्ययन गरेका १ हजार २८२ जना इन्जिनियर व्यवसायी दर्ता लाइसेन्स परीक्षामा सहभागी भएका थिए। तर ती मध्ये १६५ जना अर्थात १२.८७ प्रतिशत मात्र लाइसेन्स परीक्षामा उत्तीर्ण हुन सफल भएका छन्। १ हजार ११७ जना अर्थात ८७.१३ प्रतिशत उर्तीण हुन सकेनन्।
लाइसेन्स परीक्षाको नतिजाको आधारमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका इन्जिनियरहरु तुल्नात्मक रुपमा अब्बल देखिएका छन्। परीक्षामा त्रिभुवन विश्वविद्यालयबाट अध्ययन गरेका २ हजार ३३६ परीक्षार्थीहरु सहभागी थिए। जसमध्ये १ हजार ६६५ जना अर्थात ७१.२८ प्रतिशत उत्तीर्ण भएका छन्।
काठमाडौं विश्वविद्यालयबाट अध्ययन गरेका १६९ जना लाइसन्स परीक्षामा सहभागी भएकोमा १०८ जना पास भएका छन्।
सूदुरपश्चिम विश्वविद्यालयबाट २१ जना इन्जिनियर परीक्षामा सहभागी भएका १२ जनाले इन्जिनियर व्यवसायी दर्ता परीक्षा उत्तीर्ण गरेका छन्।
पोखरा विश्वविद्यालयबाट १ हजार ४३१ इन्जिनियर परीक्षामा सहभागी भएका ५८५ जना पास भएका छन्।
पूर्वान्चल विश्वविद्यालयबाट ५३७ इन्जिनियर परीक्षामा सहभागी भएका १९८ जना पास भएका छन्।
मध्य पश्चिम विश्वविद्यालयबाट ४५ जना इन्जिनियर परीक्षामा सहभागी भएका १३ जना मात्रै पास भएका छन्।
नेपाल इन्जिनियरिङ परिषदले २०७९ चैतमा पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा सुरु गरेको थियो। यस अघि पनि दुई पटक इन्जिनियरहरुको लाइसेन्स परीक्षा लिइसकिएको छ।
इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नका लागि परिषदमा दर्ता हुनुपर्ने प्रावधान रहेकाले लाइसेन्सको परीक्षा लिइने गरिन्छ। इन्जिनियरको रुपमा काम गर्न इन्जिनियरिङ परिषदको परीक्षा उत्तीर्ण हुनु पर्छ।
गुणस्तरिय इन्जिनियर उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले परिषद्ले परीक्षा लिन सुरु गरेको परिषदका अध्यक्ष पदमबहादुर शाही बताउँछन्।
‘मेडिकल, कानुन व्यावसायका लागि पनि लाइसेन्स अनिवार्य छ। अहिले परिषद्को ऐन संशोधन पछि परीक्षा लिन सुरु गरिएको हो,’ शाहीले टेक्नोलोजीखबरसँग भने, ‘परीक्षामा उत्तीर्ण नहुने परिषदको प्रमाणपत्र नपाउने भएकाले नेपाल भर इन्जिनियरको रुपमा काम गर्न पाउँदैन।’
विगतमा इन्जिनियरको प्रमाणपत्र पाउनेहरुले पनि परिषदको परीक्षा भने दिनु पर्दैन।
परिषदको संशोधिन ऐन अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर परिषदले लिने परीक्षा उत्तीर्ण भएपछि मात्र इन्जिनियर व्यावसायको रुममा काम गर्न पाउने उनले बताए।
अघिल्ला दुई पटकको परीक्षाको तुलनामा यसबाट उत्तीर्ण हुनेको संख्या प्रतिशतका आधारमा बढेको शाही बताउँछन्।
शिक्षामा व्यापारीकरण
शिक्षालाई विशुद्ध ज्ञान आर्जन गर्ने विषय भन्दा पनि व्यापारीकरण गरिएकाले लाइसेन्स परीक्षामा धेरै इन्जिनियर उत्तीर्ण हुन असफल रहेको नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक तथा ईन्जिनियर आनन्दराज खनाल बताउँछन्।
‘शिक्षा व्यापारिकरण भएको छ। सार्वजनिक संस्थान होस् वा निजी शिक्षण संस्थान पूर्ण रुपमा व्यापारिकरण र व्यापार केन्द्रित भयो,’ खनालले भने, ‘विश्वविद्यालयमा पढ्ने पढाउने र सञ्चालक सबैमा व्यापार हावी भयो।’
शिक्षाको गुणस्तर राम्रो बनाउने भन्दा पनि व्यापार कसरी गर्ने भन्ने तर्फ चिन्तन बढेकाले शिक्षाको गुणस्तर खस्किनु स्वभाविक भएको खनालको दाबी छ। विश्वविद्यालयहरुले सस्तो र न्यून गुणस्तरका शिक्षकबाट अध्यापन गराउँदा पनि विद्यार्थीहरुको गुणस्तर खस्केको खनालको भनाई छ। उचित सेवा सुविधा दिएर उपयुक्त र बौद्धिक शिक्षक नराख्दा यस्तो समस्या निम्तिएको हो। नेपालमा मात्र नभएर अहिले विदेशमा पनि यस्तै समस्या भएको उनको बुझाई छ।
भारत, चीन लगायत अन्य मुलुकहरुबाट लाइसेन्स परीक्षा दिने धेरै छन्। तर यी देशबाट अध्ययन गरेर आएका विद्यार्थीहरु पास हुने दर कम भएको नेपाल इन्जिनियर्स एशोसिएसनका महासचिव रविभुषण झा बताउँछन्।
विदेशको हकमा केही प्रख्यात संस्थाहरु बाहेक अरुको उद्देश्य व्यापार नै हो। शिक्षा ज्ञान आर्जन गर्ने थलो नभई व्यावसायिक भए पनि स्वभाविक रुपमा गुणस्तर कमजोर हुन्छ।
क्षमता भन्दा पनि सामाजिक प्रतिष्ठाको मोह
क्रयशक्ति कमजोर भएको मुलुकमा डाक्टर, इन्जिनियर लगायत प्राविधिक क्षेत्रमा लागियो भने सामाजिक मान्यता, इज्जत प्रतिष्ठा र कमाई राम्रो हुने पुरातनवादी सोच अझै बाँकी छ।
जसको परिणाम स्वरुप विद्यार्थीको चहाना विपरीत अभिभावले पनि यस्ता विषय अध्ययन गर्न जबरजस्ति गर्छन्। चहान र क्षमता बिना अध्ययन गर्दा यस्ता समस्या आउँछन्।
यसलाई गौड विषय बनाएर सामाजिक मर्यादा प्रतिष्ठासँग जोडेर विद्यार्थीहरुलाई जबरजस्ति विश्वविद्यालयमा हुलिदिने प्रवृत्तिको प्रतिविम्ब लाइसेन्स परीक्षामा झल्किएको उनको भनाई छ।
‘विद्यार्थीसँग न क्षमता छ न रुची छ। क्षमता नभए पनि रुची छ भने मिहिनेत गर्छ। रुची नभएको मानिसले के गर्छ? क्षमता भएकाहरु पास भएकै छन्,’ खनालले बताए।
इन्जिनियरिङ पढ्ने धेरै विद्यार्थीहरु सक्षम र दक्ष नहुँदा लाइसेन्स परीक्षामा धेरै फेल हुने गरेको महासचिव झा बताउँछन्।
‘कम अंक ल्याउने विद्यार्थीहरुलाई पनि इन्ट्रान्स परीक्षामा सहभागी गराइने गरिन्छ। त्रिभुवन विश्वविद्यालयले इन्ट्रान्समा ५० प्रतिशत अंक ल्याउनेलाई मात्र पास गर्ने भनेको छ,’ महासचिव झाले भने, ‘अन्य विश्वविद्यालयमा विद्यार्थी भर्ना सम्बन्धि कुनै मापद पनि छैन। विद्यार्थीले रोजेको विषय पढ्न पाउँछन्।’
इन्टेक नै कमजोर भएपनि लाइसेन्स परीक्षामा कमजोर नतिजा आउनु स्वाभाविक भएको उनको भनाई छ।
अस्वस्थ प्रतिस्पर्धा
अहिले इन्जिनियरिङ शिक्षामा धेरै अस्वस्थ प्रतिस्पर्धा बढेको खनाल बताउँछन्। विश्वविद्यालयमा भर्ना हुन आवश्यक पर्ने न्यूनतम योग्यता पनि विस्तारै घटाउँदै लगिएको छ। जसरी पनि भर्ने प्रचलन छ। गुणस्तर कम भएको विद्यार्थी लिएपछि पक्कै पनि समस्या हुन्छ।
अहिलेका विद्यार्थीहरुमा मिहिनेत गर्ने परिपाटी घट्दै गएको खनालको बुझाई छ। हरेक विषयको केही न केही जानकारी च्याटजीपीटीबाट पाउन सकिन्छ। यस्तो सुविधा पनि प्रयोग नगर्ने अधिकांश जमात पैदा भइरहेको छ।
विगतमा इन्जिनियरिङ पास गरेपछि व्यावसायिक इन्जिनियर बन्न लाइसेन्सको आवश्यकता पर्दैन थियो। अब विश्वविद्यालयको परीक्षा मात्र उत्र्तीण गरेर व्यावसायिक इन्जिनियर बन्न सकिँदैन। त्यसैले अब इन्जिनियरिङ अध्ययन गरेर मात्र इन्जिनियर भइन्छ भन्ने सोचका साथ पढ्ने विद्यार्थीहरु कम हुने झा बताउँछन्। सक्षम र दक्ष विद्यार्थीले मात्र पढ्न थाले पनि लाइसेन्स परीक्षाको नजिता पनि क्रमिक रुपमा सुधार हुने झाले आशय व्यक्त गरे।
विगतमा नेपालको विश्वविद्यालयबाट इन्जिनियर उत्तीर्ण हुन नसेका विद्यार्थीहरु पनि बाहिरका विश्वविद्यालयबाट प्रमाण पत्र लिइसेका हुन्थे। लाइसेन्स परीक्षा अनिवार्य भएसँगै यस्तो प्रवृत्ति आफै बन्द हुन थाल्छ।
उनकाअनुसार राम्रो विद्यार्थीहरु पास भएका छन्। ब्याक लाग्दै पास हुँदै गएका विद्यार्थीहरुको हकमा समस्या हो।
समाधान के ?
प्राविधिक विषयहरु अध्ययन अध्यापन हुने क्षेत्रमा गुणस्तरमा कुनै कन्जुस्याई गर्नु हुँदैन। संसारको विकासको लागि प्राविधिकहरुको भूमिका महत्वपूर्ण हुन्छ।
प्राविधिकहरुले गुणस्तरिय शिक्षा आर्जन गर्न सकेनन् भने कालान्तरमा विकासको क्रम नै गलत बाटोमा जाने सम्भावना रहनेमा खनालले सन्देह व्यक्त गरे। हाम्रो सडक, फुटपाथ, पुल, भवनहरु यी सबै गुणस्तरहिन इन्जिनियरको रेखदेखमा बनेकाले कमजोर भएको उनको दाबी छ।
‘विद्यार्थी छनोट तथा अध्यापन गर्ने संस्थामा कडाई गर्नु पर्छ। नियमन गर्ने निकायले पनि आफ्नो धर्म निर्वाह गर्न सकेको छैन,’ खनालले भने, ‘आधारभूत पूर्वाधार बिना विश्वविद्यालयहरुले सम्बन्धन बाँड्नु हुँदैन।’
“हाम्रो समस्या भनेको शैक्षिक संस्थान कस्तो हुनु पर्छ भन्ने बुझेका व्यक्ति भन्दा पनि राजनीतिक नियुक्तीबाट आएका व्यक्तिहरु नियमनमा छन्” खनालले दाबी गरे।
प्रकाशित: २४ पुष २०८०, मंगलवार