Technology Khabar २ पुष २०८०, सोमबार
काठमाडौं ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दलले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को प्रयोग गरी उनको आवाजको प्रतिरूप (भ्वाइस क्लोन) लाई चुनावी प्रचारमा ल्याएको छ।
खानलाई अगस्टदेखि नै थुनामा राखिएको छ र उनीमाथि गोपनीय दस्तावेजहरू चुहावट गरेको आरोपमा मुद्दा चलाइएको छ। आरोपको खण्डन गर्दै पूर्वप्रधानमन्त्री खानले आफूविरूद्धको मुद्दा केबल फेब्रुअरीमा हुने आम चुनावमा आफूलाई प्रतिस्पर्धाबाट रोक्नको लागि गरिएको षड्यन्त्र भएको बताउँदै आएका छन।
तर उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले ७१ वर्षीय खानबाट प्राप्त चार मिनेटको सन्देशलाई एआईको प्रयोग गरेर आइतबार रातिदेखि सोमबारसम्म सामाजिक सञ्जालमार्फत् ‘भ्वाइस क्लोन’ सार्वजनिक गरेको छ । निर्वाचनका लागि तयार पारिएको प्रतिरूप आवाजलाई निर्वाचन अभियानका लागि ‘भर्चुअल र्याली’ भनिएको छ ।
पीटीआईका अनुसार खानका वकिलमार्फत् पार्टीले प्राप्त गरेको उक्त लिखित सन्देश खानद्वारा तयार पारिएको सशक्त भाषामा आधारित रहेको छ।
एलेभेनल्याब्स नामक एआई फर्मको एक उपकरण प्रयोग गरेर पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको प्रतिरुप आवाज श्रव्य सामग्रीका रूपमा तयार गरिएको थियो । एलेभेनल्याब्सले विद्यमान भाषण नमूनाहरूबाट ‘भ्वाइस क्लोन’ सिर्जना गर्ने क्षमताका लागि उत्कृष्टताको दावी गर्दै आएको छ।
खानको नक्कली आवाजमा तयार पारिएको सन्देशमा भनिएको छ, “मेरा पाकिस्तानी साथीहरू, म पहिले यो ऐतिहासिक प्रयासका लागि सामाजिक सञ्जाल समूहको प्रशंसा गर्न चाहन्छु । सायद तपाईंहरू सबैले म जेलमा के गर्दैछु भनेर सोचिरहनुभएको होला ? साँचो स्वतन्त्रताको लागि मेरो अठोट आज पनि एकदमै सशक्त छ ।”
फेसबुक, एक्स र युट्युबमा पीटीआई समर्थकहरूलाई दिएको भाषणको पाँच घण्टाको लाइभ स्ट्रिमको अन्त्यमा उक्त अडियो प्रसारण राखिएको छ र यसमा खानको ऐतिहासिक भिडियो तथा तस्बीरहरू राखिएको छ।
पीटीआईका अनुसार यो पूर्वक्रिकेट स्टारको पहिलेका भाषणको वास्तविक भिडियो क्लिपको साथ बजारमा सम्प्रेषित प्रतिरूप आवाज ‘इमरान खानको लिखित सन्देशलाई रेकर्ड गरी तयार पारिएको हो ।
अमेरिकास्थित पीटीआईका सामाजिक सञ्जाल प्रमुख जिब्रान इलियासले भने, “यो वास्तवमा राजनीतिक र्यालीमा इमरान खानको प्रत्यक्ष अनुपस्थितिमा यो दमनबाट माथि उठ्नका लागि तयार पारिएको सामग्री हो। यो हाम्रा लागि कुनै जादुयी कुरा भने होइन।”
पीटीआई सामाजिक सञ्जालको क्षमतालाई व्यापक रूपमा प्रयोग गर्ने पाकिस्तानको पहिलो राजनीतिक पार्टी हो । यसले पाँच वर्षअघि युवा दर्शकहरूलाई लक्षित गरी एप्सको दुर्लभ प्रयोग गर्दै सत्तामा पुग्न सफल भएको थियो।
इलियासले एएफपीसँग भने, “हामी चुनावी मोडमा जान चाहन्थ्यौं । इमरान खान बिना पीटीआईको कुनै पनि राजनीतिक र्याली पूरा हुन सक्दैन ।”
मे महिनामा खानलाई पक्राउ गरेपछि राज्यको सेन्सरले यस वर्षको सुरुमा एयरवेभमा प्रतिबन्ध लगाएको थियो। ‘ग्लोबल नेटवर्क मोनिटर नेटब्लक’का अनुसार खानलाई लक्षित गरी ‘इन्टरनेट सेन्सरसिपका विगतका घटनासँग मिल्दोजुल्दो’ एक घटनामा आइतबार अबेरदेखि सामाजिक सञ्जाललाई सात घण्टाका लागि प्रतिबन्धित गरिएको छ।
यद्यपि, भर्चुअल र्यालीलाई फेसबुक, एक्स र युट्युबमा ४५ लाखभन्दा बढीले हेरिसकेका छन्।
सन्देशबारे पूर्वी सहर लाहोरका ३८ वर्षीय व्यवसायी सैयद मोहम्मद अशरले भने, “यो त्यति पत्यारिलो त छैन । व्याकरण पनि अनौठो छ। तर म तिनी (पीटीआई नेता) हरूलाई प्रयास गरेबापत अङ्क दिनेछु । साँच्चै भन्ने हो भने, कुनै पनि कुराले वास्तविक र्याली र वास्तविक भाषणलाई प्रतिस्थापन गर्न सक्दैन।”
तर सञ्चारकर्मी हुसेन जावेद अफ्रोजले डिजिटल माध्यमबाट वितरण गरिएको भाषणको प्रशंसा गरे।
“पीटीआईले जस्तो प्रविधि अरु कुनै पनि पार्टीले प्रयोग गर्दैन”, ४२ वर्षीय उनले भने, “यी नयाँ उपकरण हुन्, त्यसैले तिनीहरूलाई प्रयोग गर्नु सकारात्मक कुरा हो भन्ने मेरो धारणा छ ।”
खराब अभिनेताहरूले एआईको प्रयोग गरेर नेताहरूको नक्कल गर्न र गलत सूचनाको बीजारोपण गर्न सक्दछन्, तर प्रविधिलाई कसरी राज्य दमनलाई रोक्न प्रयोग गर्न सकिन्छ भन्ने बारेमा धेरै कम भनिएको विश्लेषकहरूले बताएका छन् ।
सन् २०१८ मा पाकिस्तानका सैन्य नेताहरूसँग मनमुटाव भएपछि गत वर्ष खानलाई सत्ताच्युत गरिएको विश्लेषकहरूले बताएका छन्। मे महिनामा उनको गिरफ्तारीलाई लिएर समर्थकहरूले दङ्गा मच्चाएपछि पीटीआईलाई पाकिस्तानमा आधाभन्दा बढी समय प्रत्यक्षरूपमा शासन गरेको सैन्य संस्थापनको ठूलो कारबाहीको निशाना बनाइएको छ।
पाकिस्तानको निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा निर्वाचन हुने शुक्रबार पुष्टि गरेको छ। जेलमा रहेका खानलाई औपचारिकरूपमा पीटीआई नेताका रूपमा प्रतिस्थापित गरिएको थियो तर उनलाई अझै पनि पार्टीको प्रमुख नेताका रूपमा मानिन्छ। रासस/एएफपी
प्रकाशित: २ पुष २०८०, सोमबार