Technology Khabar ६ बैशाख २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । एप्पलले दुई सिम प्रयोग हुने आईफोन ल्याउने तयारी गरेको जानकारी बाहिर आएको छ । कम्पनीले निकै सस्तो मूल्यमा नयाँ आइफोन सार्वजनिक गर्ने र त्यसमा ड्यूल सिम प्रविधि समेत हुने बताईएको छ ।
एप्पलको बारेमा जानकारी र विश्लेषण गर्ने केजीआई सेक्यूरिटीजका मिंगकाअनुसार आइफोनले यो वर्ष नयाँ आइफोनहरु ल्याउने छ जसमा ६.१ इन्चको एलसिडी डिस्प्ले (6.1 inch LCD display) भएको आइफोन समेत हुनेछ । सो आइफोनमा ड्यूल सिम सपोर्ट अर्थात दुई वटा सिम प्रयोग गर्न सकिने प्रविधि राखिने छ जसको मूल्य न्यूनतम ५५० अमेरिकी डलर हुने बताईएको छ ।
सो जानकारीअनुसार एप्पलले ६.१ इन्चको एलसिडी आइफोनको दुई मोडल ल्याउने छ जसमा एउटा सिंगल सिम सेटअप हुनेछ भने अर्कोमा ड्यूल सिम (Dual Sim) स्ट्याण्डबाई सेटअप हुनेछ । यसअघि एप्पलले ईसीम प्रयोग गर्नसक्ने बताईएको थियो ।
केजीआईकाअनुसार नयाँ ड्यूल सिम आइफोन नयाँ मूल्यसहित आउनेछ जसले नयाँ बजार सिर्जना गर्ने अनुमान गरिएको छ । यो फोनको सिंगल सिम भएको आइफोन ५५० डलरदेखि ६५० अमेरिकी डलरको बीचमा हुनेछ भने ड्यूल सिम सपोर्ट गर्ने मोडलको मूल्य ६५० देखि ७५० अमेरिकी डलरको बीचमा तोकिएको छ ।
सिंगल सिम आइफोन मोडलले चीन र व्यवसायीक बजारहरुमा एप्पलको बजार हिस्सा बढाउन सहयोग पुर्याउने कुहोको अनुमान छ ।
एप्पलले ल्याउने ६.१ इन्चको एलसिडी डिस्प्लेसहितको आइफोनको बिक्री १ करोड यूनिट भन्दा बढि हुने अनुमान गरिएको छ ।
६.१ इन्चको आइफोनसहित कम्पनीले ३ नयाँ मोडल सार्वजनिक गर्ने बताईएको छ । जसमा ५.८ इन्चको आइफोन एक्सको नयाँ संस्करण, ६.१ इन्चको एलसिडी आइफोन र ६.५ इन्चको ओएलईडी आइफोन एक्स प्लस हुने विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।
प्रकाशित: ६ बैशाख २०७५, बिहीबार