
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ ओटा राष्ट्रिय परिचयपत्र बनेर आए पनि एक हजार २८ जनाले मात्रै परिचयपत्र लिएका छन् । घुम्ती टोलीमार्फत र प्रशासन कार्यालय गुल्मीमा परिचयपत्रका लागि हालसम्म बिबरण दर्ता गराएकाको संख्या एक लाख ३ हजार ८७७ जना रहेको प्रशासनले जनाएको छ।
घुम्ती टोलीमार्फत एक लाख २९ हजार ३५९ जना र प्रशासनबाट ५४ हजार ५१८ जनाको विवरण दर्ता भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरले घुम्ती टोलीमार्फत बिवरण दर्ता गराएकाको परिचयपत्र भनेर नआएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएकामध्ये आठ हजार ७४ परिचयपत्र भनेर आएको गैरेले बताए।
परिचयपत्र भनेर आएको र लिन आउनुहोस् भन्ने म्यासेज सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा गएपनि लिन आउनेको सङ्ख्या भने न्यून रहेको उनको भनाइ छ। विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको भएपनि यसको महत्त्व नबुझेर लिन नआएको हुन सक्ने गैरेले बताए।
कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देशबाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने गैरेको भनाइ छ।
परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै आउनुपर्ने र फिगर प्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भए पनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ।
२०७६ साल असार १२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए। गोरखापत्रबाट
प्रकाशित: २६ कार्तिक २०८०, आईतवार