Technology Khabar २ आश्विन २०८०, मंगलवार
काठमाडौं ।
शुरुवातदेखि नै विवादमा रहेको टेरामोस वा टेरामोक्स समेत भनिने सिस्टमको शुरुवातमा अध्ययन परामर्श दिने परामर्शदाताहरु अख्तियारको अनुसन्धान घेरामा परेका छन्।
टेरामोस वा (टेरामोक्स) नाम नै आफूले राखेको दाबी गर्दै आएका, यसको अवधारणा र सिर्जनाकार बताउने डा बाबुराम दवाडी र अर्का परामर्शदाता डा. सुरेन्द्र कुमार श्रेष्ठसँग टेरामोसको बारेमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बोलाएर सोधपुछ र बयान लिएको छ।
दुबै जनालाई गत भदौ २१ गते नै बयानमा बोलाएको अख्तियार स्रोतले उल्लेख गरेको छ।
सो सिस्टमको शीर्षक ‘टेरामोक्स’ पनि मैले अनुसन्धानकै क्रममा जुराएको हुँ भन्दै अन्तरवार्ता दिएर टेरामोसको पक्षमा खुलेर लागेका दवाडीलाई उनले दिएको शुरुवाती परामर्शको विषयमा बुझ्न भनेर अख्तियारले बयान लिएको हो।
उनीसहित श्रेष्ठले संयुक्तरुपमा सो परामर्श प्रतिवेदन २०७४ सालमा नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएका थिए।
दवाडी र श्रेष्ठले संयुक्तरुपमा सो प्रविधिको बारेमा अध्ययन गरेर त्यसको भुक्तानी प्राधिकरणबाट लिएको स्रोतको दाबी छ।
दवाडी र श्रेष्ठको ‘जास कन्सल्ट्यान्ट प्रालि’ (Jass Consultant P. Ltd.) नामक कम्पनीमार्फत सो परामर्शको ठेक्का पाएका थिए। जसमा उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा टेरामोस सम्बन्धि विभिन्न गतिबिधिमा संलग्न रहेको र आर्थिक भुक्तानी लिएको आरोप लगाईएको छ। सोहि विषयमा सोधपुछ गर्न र बयान लिईएको हो।
तत्कालिन समयमा उनीहरुले सो प्रविधि आवश्यक हुने र त्यसलाई ल्याउनु उपयुक्त हुने परामर्श दिएको स्रोतको दाबी छ। सो परामर्श पत्रमा ‘लफुल इन्टरसेप्सनको प्रावधान राखिनुपर्ने’ समेत लेखिएको स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दियो।
उनीहरुको प्रतिवेदन संतोषजनक देखिएको भन्दै त्यसबेला दूरसञ्चार प्राधिकरणले उनीहरुलाई ९ लाख रुपैयाँ भुक्तानी दिएको बताईएको छ। सोही कारणले अख्तियारले उनीहरुलाई आर्थिक रुपमा संलग्न मानेर बयानमा बोलाएको उल्लेख छ।
सो परामर्श प्रतिवेदन दिने समयमा दवाडी उक्त कन्सल्टेन्सी फर्मको प्रतिनिधि रहेको र श्रेष्ठ प्रबन्ध निर्देशक पदमा रहेका थिए।
“यसअघि भ्वाइसको लागि मात्र मनिटर गर्ने सिस्टम राख्ने योजनामा रहेको प्राधिकरणले उनीहरुकै परामर्श प्रतिवेदनको आधारमा टेरामोस सिस्टमलाई अगाडि बढाएको हो,” स्रोतले भन्यो।
परामर्शदाता दवाडीले सबैभन्दा धेरै विवादको विषय ‘टेरामोसले सिडिआर अर्थात कल डिटेल रेकर्ड हेर्नसक्ने’ समेत टेकपाना नामक अनलाइनलाई दिएको अन्तरवार्तामा स्विकार गरेका छन्।
उनले त्यसमा एक प्रश्नको उत्तर दिँदै भनेका छन्, “टेरामोक्सको विषय त्यो कन्टेन्ट इन्टरसेप्ट गर्ने नभएर लग रेकर्ड अर्थात सीडीआर (कल डिटेल रेकर्ड) क्याप्चर अर्थात इन्टरसेप्ट गर्ने हो।”
तर प्राधिकरण नेतृत्व र त्यहाँका अधिकारीहरुले भने यसले सिडिआरसमेत नहेर्ने र त्यस्तो डाटाहरु सबै ‘इन्क्रिप्टेड’ हुने दाबी गर्दै आएका छन्।
टेलिकम क्षेत्रका विज्ञहरुको अनुसार त्यस्तो सिडिआरमा ग्राहकको कलसँग सम्बन्धित सबै संवेदनशिल जानकारीहरु हुने गर्दछ। जसमा फोन गरेको समय, फोन नम्बर, कुरा गरेको अवधि र ग्राहकले अर्को ग्राहकलाई फोन गरेको स्थानलगायतका व्यक्तिगत जानकारीहरुसमेत त्यसमा राखिएको हुन्छ।
स्मरण रहोस् दवाडी हालै पुल्चोक इन्जिनियरिङ्ग कलेजमा भएको शुल्क वृद्धिको विवादमा समेत संलग्न रहेको ईकान्तिपुरले रिपोर्ट प्रकाशित गरेको थियो। दवाडीको बारेमा फोटोसहितको उक्त रिपोर्टमा भनिएको छ,- “आईओईका प्राध्यापक बाबुराम दवाडी कसमस कलेजको सहायक क्याम्पस चिफ हुन्। उनी पनि शुल्क वृद्धि गर्न गठित समितिका सदस्य थिए।”
जसमा उनी पुल्चोक क्याम्पसमा प्राध्यापक भएपनि अन्य क्याम्पसमासमेत आबद्ध भएको खुलासा गरिएको थियो।
अर्का परामर्शदाता श्रेष्ठ इन्स्टिच्यूट अफ इन्जिनियरिङ्ग पुल्चोक क्याम्पसको इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका एसोसिएट्स प्रोफेसर रहेको क्याम्पसको वेबसाइटमा देखिन्छ।
यसका साथै दुबैले मिलेर संयुक्तरुपमा “टेरामोक्स: दूरसञ्चार ट्राफिक अनुगमन र जालसाजी नियन्त्रण प्रणाली (TERAMOCS: Telecommunications TRAffic MOnitoring and Fraud Control System)” नामक रिसर्च पेपर प्रकाशित गरेका छन्।

दवाडी अध्यापनमा आउनुभन्दा अघि दूरसञ्चार प्राधिकरणकै पूर्व सहायक निर्देशक पदमा कार्यरत कर्मचारी थिए। उनले अहिले पनि प्राधिकरणको अन्य परियोजनाका साथै अख्तियारमा पनि परामर्श दिँदै आएको स्रोतको भनाई छ।
यसैबीच शुरुवाती चरणमा सो सिस्टमको लागत विश्लेषण गर्ने मनु नारायण श्रेष्ठलाई समेत अख्तियारले सोधपुछ र बयान लिएको छ।
स्रोतकाअनुसार तत्कालिन समयमा लागत अनुमान गर्न छुट्टै परामर्शदाता र लागत विश्लेषकमार्फत गर्ने निर्णयका साथमा मनु नारायण श्रेष्ठलाई सो जिम्मा दिईएको थियो।
टेरामोस र अख्तियारको बयानको बारेमा दवाडीको भनाई समावेशका लागि पटक पटक फोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन् सकेन्।
यो पनि हेर्नुस्-
दूरसञ्चार प्राधिकरण भित्र टेरामोसले त्रास, अध्यक्ष खनालसहित दर्जनौं कर्मचारीसँग अख्तियारको बयान
तस्विरहरु- दवाडीको फेसबुक तथा श्रेष्ठको लिंक्डइनबाट
प्रकाशित: २ आश्विन २०८०, मंगलवार