
काठमाडौं ।
चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा विद्युतीय अटोरिक्सा चालकको कमाइ राम्रो हुने गरेको छ।
हिल्साका विद्युतीय तिन पाँग्रे अटो चालक नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका पासाङ लामा अटो चलाएर दैनिक राम्रो कमाई हुने गरेको बताए। ताक्लाकोटबाट ढुवानी भएर आएको सामान नेपालको मैत्री पुलबाट हिल्सा बजारसम्म एक ट्रिप सामान ढुवानी गरेको दुई हजार लिने गरेको बताउँदै उनले दैनिक पाँचदेखि छ ट्रिप सामान ढुवानी गर्ने गरेको बताए। उनले दैनिक दशदेखि बाह्र हजार रुपियाँ कमाइ हुने गरेको बताउँदै मासिक तीन लाख रुपियाँसम्म कमाइ हुने गरेको बताए।
यसअघि ताक्लाकोटमा मजदुरी काम गर्दै आएका लामाले गत असारबाट अटो चलाउँदै आएका हुन्। हिल्साका होटेल व्यवसायी कर्मा तुडुप लामाले यसअघि मानिसले बोकेर ल्याउने सामान यस वर्षबाट अटो रिक्साबाट ढुवानी हुने गरेको बताउँदै कमाइ पनि राम्रो गर्ने गरेको बताए। उनले अटो रिक्सा चालकले बिहानबाट बेलुकासम्म सामान ढुवानी गर्ने गरेको बताउँदै आम्दानीको राम्रो माध्यम भएको बताए।
हाल हिल्सामा यसरी सामान ढुवानी गर्ने दुई जना हुम्लावासी रहेको बताए। यी रिक्साहरु रातभरि बत्तीमा चार्ज गरिने भएको कारण अन्य खर्च नहुने बताउँदै उनले दुवै जना पेशाबाट खुसी रहेको बताए। चीनको ताक्लाकोटबाट दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा आयात हुने गरेको छ।
ताक्लाकोटबाट दुई देशको सिमानासम्म चिनियाँ गाडीमा सामान ढुवानी हुने गरेको र त्यताबाट हिल्सा बजारसम्म विद्युतीय अटोरिक्साले सामान ढुवानी गर्दै आएका छन्। गोरखापत्रबाट
प्रकाशित: २३ भाद्र २०८०, शनिबार