
काठमाडौं ।
सामसङले नयाँ स्मार्ट वेयरेबल ग्यालेक्सी रिङ्ग भनिने एउटा औंठी तयार गर्दैछ भन्ने चर्चा गत वर्षदेखि चलिरहेको छ। स्मार्ट वेयरेबल बजारमा यस प्रकारको वेयरेबल्सको प्रयोग नगरिएको हुनाले सामसङले यसलाई अनुसन्धान गर्नु निकै अर्थपूर्ण हुनेछ।
द इलेककाअनुसार, कम्पनीले विकास प्रक्रिया पूरा गरिसकेको र सम्भवतः अर्को महिना उत्पादनको थालनी गर्नेछ। त्यसैगरी कोरियाली टेक जायन्टले आवश्यक हार्डवेयरको सोर्सिङ सुरक्षित गरिसकेको र कम्पनीले अब मास प्रोडक्सन (ठूलो उत्पादन) कहिले सुरु गर्ने भनेर निर्णय गर्न मात्र बाँकी रहेको उल्लेख गरिएको छ।
साथै उक्त वेयरेबलको उत्पादन नजिकिँदै गर्दा रिलीज मिति भने २०२४ सम्ममा पनि नहुने उल्लेख छ। मानक नियामक प्रक्रियाहरू बाहेक ग्यालेक्सी रिङ्गले “मेडिकल डिभाइस” स्ट्याटस (चिकित्सा उपकरण स्थिति) प्राप्त गर्नका लागि विभिन्न प्रमाणीकरण प्रक्रियाहरू पार गर्नुपर्ने हुन्छ।
उक्त प्रमाणीकरणहरूका लागि महिनौंसम्मको समय लाग्न सक्ने भएकाले ग्यालेक्सी रिङ्ग २०२४ सम्ममा बजारमा आउने सम्भावना नभएको उल्लेख छ। यद्यपी केहीले भने ग्यालेक्सी एस२४ सिरिजको घोषणासँगै आइपुग्न सक्ने अनुमान गरेको उल्लेख छ।
प्रकाशित: १६ श्रावण २०८०, मंगलवार