
काठमाडौं ।
दाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। सेवाग्राहीलाई बायोमेट्रिक सहित वितरण रहेको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गर्न सुरु गरिएको हो।
जिल्ला प्रशासन कार्यालयबाट यसअधि राष्ट्रिय परिचयपत्र आवेदन भरेकालाई कार्ड वितरण भइरहेको छ। असारको १ गतेबाट प्राविधिक प्रक्रिया थालनी गरेर अहिले कार्ड वितरणको काम भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारी भिपी भट्टले जानकारी दिए।
जिल्लामा पहिलो चरणमा आएको ३१ हजार कार्ड वितरणको काम भइरहेको उनले बताए। कार्ड छपाइ हुँदा क्रमबद्ध नभई आएकाले गएको माघ महिनासम्मको कार्ड जिल्लामा आइपुगेको र अरू पनि आउने प्रक्रियामा रहेको उनले बताए।
उनले भने, “गएको माघ महिनाभन्दा अघि आवेदन दिएकाहरूको कार्ड जिल्ला प्रशासन कार्यालयमा आइपुगेको छ। आएको कार्डहरू वितरणको काम पनि भइरहेको छ।”
उनका अनुसार कार्ड लिन आउँदा स्वयम् व्यक्ति आफैँ उपस्थित हुनुपर्ने, सूचना प्राप्त भएको दिन नै आउँदा समयमा सेवा पाउने अवस्था रहेको छ।
राष्ट्रिय परिचयपत्र नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको छ।
व्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रका रूपमा प्रयोग गर्न सकिने, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा भत्तालगायतका सुविधा प्राप्तिलगायतका लागि उपयोग गर्न सकिने छ।
दाङमा २०७७ साउन १८ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिन थालिएको थियो। गोरखापत्रबाट
प्रकाशित: ६ श्रावण २०८०, शनिबार