
काठमाडौं ।
उत्तरी अमेरिकामा विद्युतीय सवारी साधनहरूको चार्जिङ्ग मापदण्डलाई थप एकताबद्ध गर्न सक्ने कदममा, फक्सवागनले टेस्लासँग उत्तर अमेरिका चार्जिङ्ग स्ट्यान्डर्ड (एनएसीएस) प्रविधि अपनाउनका लागि वार्ता गरिरहेको छ।
जर्मन कार निर्माताको चार्जिङ्ग नेटवर्क युनिट इलेक्ट्रीफाइ अमेरिकाले २०२५ सम्ममा १,७०० स्टेशनहरूमा आफ्नो नेटवर्क विस्तार गर्ने योजना बनाएको र यस अघि नै एनएसीएस पोर्ट अपनाउन सहमत भइसकेको उल्लेख गरिएको छ।
एनएसीएस भनेको टेस्लाद्वारा विकास गरिएको एक प्रोप्राइटरी चार्जिङ्ग कनेक्टर हो र हाल कम्पनीको सुपरचार्जर नेटवर्कमा प्रयोग गरिने बताइएको छ। साथै एनएसीएस उत्तर अमेरिकाको सबैभन्दा ठूलो फास्ट–चार्जिङ्ग नेटवर्क भएको र यो महादेशका १२,००० भन्दा बढी स्थानहरूमा उपलब्ध रहेको बताइएको छ।
यो एक सिङ्गल–पोर्ट चार्जिङ्ग सिस्टम (प्रणाली) भएको र यसमा एसी र डीसी दुवै चार्जिङ्गको लागि समर्थन पनि रहेको छ। कम्बाइन्ड चार्जिङ्ग सिस्टम (सीसीएस) कनेक्टरको तुलनामा एनएसीएस कनेक्टर लगभग आधा साइजको हुनुका साथै दुई गुणा शक्तिशाली भएको उल्लेख गरिएको छ।
भोल्भोले उत्तर अमेरिकी बजारमा आफ्नो विद्युतीय सवारीका लागि एनएसीएस अपनाउने घोषणा गरेको केही दिनपछि यो विकास आएको हो। फक्सवागनसँग सम्झौता भएको खण्डमा टेस्लाको लागि बढावा हुने बताइएको छ। आफ्नो क्लोज्ड चार्जिङ्ग सिस्टमको लागि आलोचना झेलेको टेस्लाले अन्य अटोमेकरहरूलाई आफ्नो सवारीहरूमा सुपरचार्जर नेटवर्कसँग एकीकृत गर्न गाह्रो बनाएको उल्लेख छ।
फक्सवागन र टेस्ला एनएसीएसमा कहिले सम्झौतामा पुग्छन् भनेर हालसम्म स्पष्ट नभएको तर यी दुई कम्पनीहरु वार्तामा संलग्न हुनु भनेको चार्जिङ्ग मापदण्डहरूको एकीकरणको लागि सकारात्मक संकेत भएको उल्लेख गरिएको छ।
प्रकाशित: १६ असार २०८०, शनिबार