Technology Khabar १८ मंसिर २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ मंसिर । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले मुलुकलाई आर्थिक संकटबाट बचाउनका लागि भर्चुअल करेन्सी ल्याउने घोषणा गरेका छन् ।
भेनेजुएलाको तेल, ग्यास, सुन र हीरा उद्योगमा प्रयोग गर्न सकिने गरि ‘पेट्रो’ नाम दिइएको भर्चुअल मुद्रा ल्याउने राष्ट्रपति मादुरोले घोषणा गरेका हुन् ।
तेलबाट उठ्ने राजस्व र विद्यमान मुद्राको भाउमा आइरहेको कमीका कारण भेनेजुएलाको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । राष्ट्रपति मादूरोले अमेरिकी प्रतिबन्धहरुको विरुद्धमा पनि आवाज उठाएका छन् । जसलाई उनले ठुलो रोकावट ९नाकाबन्दी० भएको बताएका छन् ।
विपक्षी सांसदहरुले भने सो योजनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
हालै गरिएको एउटा घोषणामा मादुरोले नयाँ भर्चुअल करेन्सीले भेनेजुएलाको मौद्रिक कारोबार र नाकाबन्दीको समस्या समाधान गरी आर्थिक रुपमा सबल बन्नका लागि मद्दत गर्ने बताए । उनले २१ औँ शताब्दी आइसकेको भन्दै यस्ता डिजिटल मुद्रा आवश्यक रहेको बताए । तर सो ‘पेट्रो’ नामक मुद्रा कहिले र कसरी आउने भन्ने चाहिँ बताएका छैनन ।
विश्वभरमा बिटक्वाइनप्रति बढिरहेको रुचीका माझ भेनेजुएलाले यस्तो घोषणा गरेको हो । यसबाट आफ्नो देशको आर्थिक संकट हट्ने मादुरोको भनाई छ । भेनेजुएलामाथि १४ हजार करोड डलर भन्दा बढी विदेशी ऋण रहेको छ । अर्थशास्त्रीहरुका अनुसार मादुरोले नयाँ मुद्रा पेट्रो मार्फत विदेशी ऋण तिर्ने सोच बनाइरहेका छन् ।
विपक्षी सांसदहरुले प्रस्तावित मुद्राका लागि कांग्रेसको समर्थन आवश्यक रहेको र त्यो मिल्ने सम्भावना कम भएकाले योजना कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । विपक्षी सांसद तथा अर्थशास्त्री एंजेल अल्भाराडोले भने, ‘मादुरो अनौठो व्यवहार गर्दैछन्, त्यो योजनामा कुनै विश्वसनीयता नै छैन ।’
भेनेजुएलाको अर्थव्यवस्था पूर्ण रुपमा त्यहाँ उपलब्ध तेलमा निर्भर रहेको छ तर तेलको मूल्यमा आएको कमीका कारण देशले आर्थिक र राजनीतिक संकटको सामना गर्नुपरिरहेको छ ।
त्यहाँको सरकारले दमनकारी नीति अबलम्बन गरेको भन्दै केही समयअघि अमेरिका र युरोपेली देशहरुले भेनेजुएलामाथि कयौँ प्रतिबन्ध र नाकाबन्दी लगाएका छन् ।
प्रकाशित: १८ मंसिर २०७४, सोमबार