
काठमाडौं ।
सामसङले एप्पललाई ठूलो अन्तरले पछि पार्दै सन् २०२२ मा सबैभन्दा रिपेयर–फ्रेन्डली (मर्मत–अनुकूलन) स्मार्टफोन ब्रान्डको रूपमा शीर्षमा उक्लिएको इलेक्ट्रोनिक्स हबको अध्ययनले देखाएको छ।
औसत मर्मत समय र अनलाइन फेला परेका मर्मत गाइड निर्देशनहरूको कठिनाइको आधारमा कुन स्मार्टफोनहरू घरमै मर्मत गर्न सबैभन्दा सजिलो र सबैभन्दा गाह्रो थियो भनेर अध्ययनले आईफिक्सईटबाट डाटा एकत्रित गरेको थियो।
सन् २०२२ मा रिलिज भएको सामसङको ग्यालेक्सी फोनहरू मर्मत गर्न सबैभन्दा सजिलो पाईएको बताइएको छ। त्यसैगरी डीआईवाई रिपेयर–फ्रेन्डलीनेस सन्दर्भमा ग्यालेक्सी ए४० (२०१९) र सोही वर्ष लन्च गरिएको मोटो जी७ पछि ग्यालेक्सी एस२२ अल्ट्रा तेस्रो स्थानमा रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
ग्यालेक्सी ए४० को औसत मर्मत समय प्रति फिक्स ३२.६ मिनेट रहेको र त्यसमा ४२.९ प्रतिशत मर्मत गर्न सजिलो भएको उल्लेख गरिएको छ।ग्यालेक्सी एस२२ अल्ट्राको भने ४८.१ मिनेटको औसत मर्मत समय रहेको र त्यसमा ३३.३ प्रतिशत मर्मतहरू कार्यान्वयन गर्न सजिलो भएको बताइएको छ।
यसैबीच, गुगल पिक्सेल ७ (२०२२) भने मर्मत गर्नको लागि सबैभन्दा गाह्रो स्मार्टफोनको रूपमा फेला परेको र यसको घरमा मर्मत गरिने औसत समय ६०.३ मिनेट भएको उल्लेख छ। ग्यालेक्सी नोट १० पनि डीआईवाई–रिपेयर–फ्रेन्डली (मर्मत–अनुकूल) नभएको भनेर लेबल गरिएको छ। साथै ग्यालेक्सी नोट १० को औसत मर्मत समय ५८.४ मिनेट र मर्मत निर्देशनहरू पालना गर्न गाह्रो भएको बताइएको छ।
सामसङ २०१३ र २०१४ मा पनि होम रिपेयर फ्रेन्डलीनेस (घर मर्मत मित्रता)को सन्दर्भमा शीर्ष ब्रान्ड रहेको थियो। त्यसपश्चात भने सामसङले गुगल, मोटोरोला, एप्पल र शाओमी जस्ता अन्य ब्रान्डहरूसँग नेतृत्व गुमाएको थियो। यद्यपि, २०२२ मा सामसङले संसारमा सबैभन्दा मर्मत योग्य स्मार्टफोन ब्रान्डको रूपमा आफ्नो स्थान पुनः प्राप्त गरेको उल्लेख गरिएको छ।
सामसङको २०२३ ग्यालेक्सी एस २३ सिरिज सहित आफ्नो नवीनतम फोनहरूको मर्मतयोग्यतामा केन्द्रित (फोकस) भएको देख्न सकिन्छ।ग्यालेक्सी एस २३ सिरिजमा अब ब्याट्री पाउचहरू पनि आउने भएकाले यसले ब्याट्री प्रतिस्थापनलाई धेरै सरल बनाएकोछ। साथै यस कदमले बजारमा सबैभन्दा रिपेयर–फ्रेन्डली स्मार्टफोन ब्रान्डको रूपमा सामसङको स्थितिलाई अझ बढाउने सम्भावना रहेको उललेख गरिएको छ।
समग्रमा, अध्ययनले उपभोक्ताहरूको लागि स्मार्टफोन छनौट गर्दा मर्मत योग्यताको महत्त्वलाई मुख्य कारकको रूपमा हाइलाइट गरेकोछ। साथै सामसङको नेतृत्व रहेको यस सन्दर्भमा अन्य ब्रान्डहरूले सँधै विकसित स्मार्टफोन बजारमा प्रतिस्पर्धी रहन मर्मत योग्यतालाई प्राथमिकता दिनुपर्ने हुन सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: २५ बैशाख २०८०, सोमबार