गलकोट नगरपालिकाको सार्वजनिक स्थलमा सीसी क्यामरा जडान

  • Technology Khabar | १२ बैशाख २०८०, मंगलवार
गलकोट नगरपालिकाको सार्वजनिक स्थलमा सीसी क्यामरा जडान

काठमाडौं ।

– थम्मन थापा

बागलुङ स्थित गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सीसी क्यामरा सञ्चालनमा ल्याएको छ। गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सीसी क्यामरा सञ्चालनमा ल्याइएको बताएका छन्।

प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहुने भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर प्रमुख गैरेले बताए । ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा सीसी क्यामरा जडान गरिएको नगर प्रमुख गैरेले उल्लेख गरे।

सीसी क्यामरा सञ्चालनमा आसँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गलकोट नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसि क्यामरा सोमबार उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको छ। गलकोट नगरपालिकाको मुख्य प्रवेशद्धार भ्यु टावरदेखि बाँसखोलासम्म सिसि क्यामरा जडान भएका छन्।

शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न ट्राफिक नियमको उल्लङघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन र राजमार्ग क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सिसि क्यामराले सहयोग पुग्ने गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले जानकारी दिए। नगर उपप्रमुख निउरेले गलकोट नगरपालिका भित्रका १९ स्थानमा २० वटा सीसी टिभी क्यामरा जडान गरिएको बताए।

कार्यालयमा बसेर मध्यपहाडी लोकमार्ग क्षेत्र, मानिसको बढि मात्रामा जमघट हुने सार्वजनिक स्थानमा निगरानी गर्न सकिने र अपराधिक व्यक्तिको पनि पहिचान छिट्टै हुने भएकाले सिसि क्यामरा जडान भएपछि सहज भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख डेकेन्द्र शर्माले जानकारी दिए।

सीसी क्यामरा सञ्चालनमा आएपछि राजमार्ग क्षेत्रमा दुर्घटना भएलगत्तै उद्धार गर्न सकिने, लागु औषध सेवनकर्ता, अपराधिक क्रियाकलापमा संलग्न हुने व्यक्तिहरु समेत निरुत्साहित हुने प्रहरीको विश्वास छ।

सीसी क्यामरा गलकोट नगरपालिकाको भ्यू टावर, दुदिलाभाटी बजार, नरेठाँटी बजार, नरेठाँटी पुलचोक, ढलेपिपल, डाँडाखेत, हटिया सिवाईसि चोक, हटिया बजार, सिमखेत, घट्टेखोला, हटिया प्रगति चोक, भैंसेपुल, आँगाखेत चोक, बाँसखोला, मनसुन चोक, गलकोट नगरपालिका चोक, हरिचौर बजार, गलकोट नगरपालिका वडा नम्वर ५ नमस्ते चोक, र वडा नम्वर ६ मा जडान गरिएको गलकोट नगरपालिकाले जनाएको छ।

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...