
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन्।
उनले ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको भन्दै कानुनी व्यवस्थाको लागि निर्देशन दिएको बताएका छन्।
“सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,” उनले भनेका छन्।
‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।
— PMO Nepal (@PM_nepal_) April 23, 2023
प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्य सचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवम् प्रबर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएको बताईएको छ।
यसअघि नेपालमा एसेम्बल हुने गरेको इलेक्ट्रिक बाईकले दर्ता नम्बर नहुँदा बाटोमा गुड्न नपाएको गुनासो सामाजिक संजालमार्फत आएका थिए। जसमा लगानीकर्ताहरु विदेश पलायन भएको सम्मका समाचार सार्वजनिक भएका थिए ।
तर यात्रीका लगानीकर्ताहरुले आफूहरु पलायन नभएको र नेपालमा नै काम गरिरहेको स्पष्टिकरण दिएका थिए।

प्रकाशित: १० बैशाख २०८०, आईतवार