Technology Khabar ४ बैशाख २०८०, सोमबार
काठमाडौं ।
बिराटनगर महानगरपालिकाले पार्किङ स्थलमा सीसी क्यामरा जडान गरेको छ। पार्किङ स्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सीसी क्यामरा जडान गरिएको हो।
बिराटनगर बजार क्षेत्रका सडकलाई पार्किङ निषेध गरेर सार्वजनिक पार्किङ अवधारणा कार्यान्वयनमा ल्याइएको थियो। व्यापारीले पार्किङ स्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गरेपछि महानगरपालिकाले सीसी क्यामरा र बत्ती जडान गरेको छ।
सडकमा नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेर सार्वजनिक स्थललाई व्यवस्थित बनाउन लागेको हो। अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने प्रमुख नागेश कोइरालाले जानकारी दिए।
सीसी क्यामराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ । मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको सीसी क्यामरामार्फत पार्किङ स्थलको अवलोकनसमेत गरे।
सीसी क्यामरा जडानसहित पार्किङ स्थलमा गिट्टी राखेर सम्याउने, बत्ती जडान गर्ने, पार्किङ स्थलमा जाने नालीमाथि स्ल्याब राख्नेलगायतका कार्य सकिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए।
प्रकाशित: ४ बैशाख २०८०, सोमबार