
काठमाडौं ।
चलचित्रबाट भएको आम्दानी वैशाखदेखि मासिक रूपमा सार्वजनिक गरिने भएको छ। चलचित्र विकास बोर्डले आम्दानी कति भयो भनी यकिन गर्न अब मासिक रूपमै सार्वजनिक गर्ने भएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रूपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिए। “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाटै निर्देशन भएपछि वार्षिक विवरण बाहिर ल्याएका हौँ। अब मासिक रूपमा ल्याउने छौँ”,अध्यक्ष केसीले भने। मासिक रूपमै विवरण सार्वजनिक हुँदा व्यापारलाई लिएर भ्रम सिर्जना नहुने उनको विश्वास छ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्स अफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए। “सबै चलचित्र भवनमा बक्स अफिस प्रणाली जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ। केहीले नियतवश पनि गरिरहेका हुन्छन्। तर बोर्डले यसमा अनुगमन बढाएको छ”, अधिकृत पाण्डेले भने, “हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ।”
नेपालभर चलचित्र प्रदर्शन भएबापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ। विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरु नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए। चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन्।
यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ। बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये एक सय ३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: ३ बैशाख २०८०, आईतवार