
काठमाडौं ।
नेपालमा फोरजी प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। दूरसञ्चार सेवाप्रदायकले फोरजी सेवा विस्तारलाई प्राथमिकतामा राख्दा एक वर्षको अवधिमा ४० लाख भन्दा बढी प्रयोगकर्ता थपिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको २०७९ पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ९१ लाख ४९ हजार ३३६ पुगेका छन्। गत वर्ष २०७८ पुस मसान्तसम्म फोरजी प्रयोगकर्ता १ करोड ५० लाख ५८ हजार २६९ थिए। एक वर्षको अवधिमा फोरजी प्रयोगकर्ता ४० लाख ९१ हजार ६७ ले बढेको प्राधिकरणको एमआईएस रिपोर्टमा देखिन्छ।
नेपालमा ३ दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आइरहेका छन्। फोरजी ग्राहकको आधारमा सरकारी स्वामित्वको नेपाल टेलिकम अग्र स्थानमा रहेको छ। पुस मसान्तसम्म नेपाल टेलिकमको फोरजी ग्राहक १ करोड २१ लाख ९७ हजार ३४४ छन्। गत वर्षको सोही अवधिमा नेपाल टेलिकमको फोरजी ग्राहक ८७ लाख ७० हजार ३२५ थिए। एक वर्षको अवधिमा नेपाल टेलिकमको फोरजी ग्राहक ३४ लाख २७ हजार १९ ले बढेको छ।
६८ लाख ४४ हजार ९१६ फोरजी प्रयोगकर्ता सहित एनसेल दोस्रो स्थानमा छ। एक वर्षको अवधिमा एनसेलको फोरजी प्रयोगकर्ता ७ लाख २१ हजार ८२० ले बढेको छ। २०७८ पुस मसान्तमा एनसेलको फोरजी ग्राहक ६१ लाख २३ हजार ९६ थिए।
एक वर्षको अवधिमा नेपाल टेलिकम र एनसेलले आफ्नो फोरजी प्रयोगकर्तामा उल्लेखनिय वृद्धि हासिल गर्दा अर्को सेवा प्रदायक स्मार्टले भने ५७ हजार ७७२ फोरजी ग्राहक गुमाएको छ।
२०७९ को पुस मसान्तसम्म स्मार्टको फोरजी ग्राहक १ लाख ७ हजार ७६ छन् गत वर्ष २०७८ को सोही अवधिमा स्मार्टको फोरजी ग्राहक १ लाख ६४ हजार ८४८ थिए।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार