काठमाडौं ।
खगोलविद्हरूले आकाशगंगामा पहिलो माइक्रोब्लाजार पत्ता लगाएका छन्। यो ब्ल्याक होलबाट सञ्चालित छ, जसले प्रकाशको गतिनजिकको गतिमा प्लाज्माका धाराहरू पृथ्वीतर्फ प्रहार गरिरहेको छ।
आईआरएएस १८२९३−०९४१ नाम दिइएको यो प्रणाली पृथ्वीबाट करिब १२ हजार प्रकाशवर्ष टाढा छ। यसमा एउटा ब्ल्याक होल र त्यसले परिक्रमा गर्ने विशाल तारा छन्। ब्ल्याक होलले आफ्नो साथी ताराबाट खोसिएको पदार्थलाई आफूतिर तानिरहेको छ। यी दुईले प्रत्येक ११ पृथ्वी दिनमा एकअर्काको परिक्रमा गर्छन्।
स्पेस डटकमका अनुिसार ब्ल्याक होलको ध्रुवीय क्षेत्रमा पुगेको केही पदार्थ बाहिर निस्कन्छ र प्रकाशको गतिनजिकको वेगमा दुई विपरीत दिशामा प्लाज्माका धाराका रूपमा अन्तरिक्षमा फैलिन्छ।
ब्लाजार र माइक्रोब्लाजारबीचको मुख्य भिन्नता तिनलाई शक्ति दिने ब्ल्याक होलको आकार हो। ब्लाजारमा सूर्यको भन्दा लाखौँ वा अर्बौँ गुणा बढी पिण्ड भएको विशाल ब्ल्याक होल हुन्छ। यसले वरपरको पदार्थ आफूतिर तान्दै पृथ्वीतर्फ सीधा शक्तिशाली धाराहरू प्रहार गर्छ।
तर माइक्रोब्लाजारमा आईआरएएस १८२९३−०९४१ मा जस्तै तारकीय पिण्ड भएको तुलनात्मक रूपमा सानो ब्ल्याक होल हुन्छ। यसको पिण्ड सूर्यको भन्दा केही सय गुणासम्म बढी हुन सक्छ।
यस्तो प्रणाली सजिलै देखिनुपर्ने जस्तो लाग्न सक्छ। तर हाम्रो आकाशगंगामा माइक्रोक्वासार हुन सक्ने सिद्धान्त करिब तीन दशकदेखि रहे पनि यो प्रणाली पत्ता लाग्न सकेको थिएन। अन्तरतारकीय ग्यास र धुलोको बाक्लो तहले छेकेका कारण यो प्रणाली ओझेलमा परेको थियो।
स्पेनको युनिभर्सिटी अफ जाएनका अनुसन्धान टोलीका प्रमुख जोसेप मार्तीले एक विज्ञप्तिमा भने, “आईआरएएस १८२९३−०९४१ हाम्रो आँखाअगाडि नै लुकेको थियो। यो यति धेरै धुलोको पछाडि छ कि सामान्य अप्टिकल तस्बिरमा लगभग अदृश्य छ। दशकौँअघि यसको सूचीकरण गरिएको थियो र त्यसपछि लगभग बिर्सिएको थियो।”
सानो संकेतबाट भएको खोज
विज्ञानमा कहिलेकाहीँ ठूला खोजको सुरुवात सानो संकेतबाट हुन्छ। आईआरएएस १८२९३−०९४१ को खोज पनि यस्तै एउटा संकेतबाट सुरु भएको थियो।
खगोलविद्हरूले सुरुमा यस प्रणालीको ताराबाट निस्कने प्रकाश झिलमिल गरिरहेको देखेपछि यसको अस्तित्वबारे संकेत पाएका थिए। यसबाट ताराको वरिपरि रहेको साथी ब्ल्याक होलले ११.४ दिनमा एक परिक्रमा गर्ने तथ्य पत्ता लाग्यो। वैज्ञानिकहरूले यस प्रणालीलाई लगभग सीधा अगाडिबाट हेरिरहेको पनि थाहा पाए।
त्यसपछि रेडियो तरङ्गको प्रयोग गरेर गरिएको थप अवलोकनले एउटा दिशामा फैलिएको प्लाज्मा धारा पत्ता लगायो। अर्को धारा भने देखिएको थिएन। किनभने त्यो पृथ्वीतर्फ नभई लगभग सीधा पृथ्वीबाट टाढा जाने दिशामा फैलिएको थियो।
युरोपेली भीएलबीआई नेटवर्क (ईभीएन) नामक रेडियो टेलिस्कोपको सञ्जाल प्रयोग गरी गरिएको उच्च रिजोल्युसनको अवलोकनले उक्त धाराको दिशा पुष्टि गर्यो। साथै, यो धारा अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेको तारासँगै रहेको आईआरएएस १८२९३−०९४१ प्रणालीबाटै निस्किएको पुष्टि भयो। यो पृथ्वीबाट त्यही दिशामा देखिने कुनै टाढाको आकाशगंगाबाट आएको थिएन।
नेदरल्यान्ड्सस्थित जोइन्ट इन्स्टिच्युट फर भीएलबीआईका बेनिटो मार्कोटेले भने, “यही क्षणमा अनुसन्धानको नतिजा ठोस बन्यो। ईभीएनबाट प्राप्त उच्च रिजोल्युसनको स्थान र गाइया उपग्रहले पत्ता लगाएको ताराको निश्चित स्थानले यसको पुष्टि गर्यो। त्यो धारा तारकीय प्रणालीकै हो।”
पृथ्वीबाट टाढा गइरहेको धारा प्रत्यक्ष रूपमा देख्न नसकिए पनि खगोलविद्हरूले दक्षिण अफ्रिकास्थित मीरक्याट रेडियो वेधशालाको प्रयोग गरेर त्यसको प्रभाव पत्ता लगाए।
अवलोकनबाट उक्त धाराले अन्तरतारकीय ग्यास र धुलोमा ठोक्किँदा बनेको १०० प्रकाशवर्ष चौडा बुलबुला देखियो। त्यस बुलबुलाको एउटा किनारमा रहेको ‘हटस्पट’ मा धारा र पदार्थबीचको ठक्करले कणहरूलाई तीव्र गतिमा प्रवेग गरिरहेको, धुलोलाई तताइरहेको र हाइड्रोजन ग्यासलाई चम्काइरहेको पत्ता लाग्यो।
यो स्थान उच्च ऊर्जाका गामा किरणहरूको स्रोत पनि हो। यहाँबाट निस्कने प्रत्येक फोटोनमा पृथ्वीको सबैभन्दा ठूलो र शक्तिशाली कण प्रवेगक लार्ज ह्याड्रन कोलाइडर (एलएचसी) ले प्रवेग गराएका कणको तुलनामा १० गुणा बढी ऊर्जा हुन्छ।
उक्त धारामा सूर्यले विकिरण गर्ने ऊर्जाभन्दा पाँच लाख गुणा बढी ऊर्जा रहेको छ। यसले पदार्थ आफूतिर तान्ने ब्ल्याक होल कसरी शक्तिशाली ब्रह्माण्डीय कण प्रवेगक बन्छन् र कसरी यति उच्च ऊर्जाका गामा किरण उत्पादन गर्छन् भन्ने रहस्य बुझ्न सहयोग गर्छ।
युनिभर्सिटी अफ जाएनका अनुसन्धान टोलीका सदस्य पेड्रो लुके-एस्कामिलाले भने, “यसको विशेषता भनेको प्रवेगक इन्जिन र लक्ष्य दुई फरक वस्तु हुन्, जुन एकअर्काबाट दर्जनौँ पारसेक टाढा छन्। धाराले कणलाई प्रवेग गर्छ भने बादलले चमक पैदा गर्छ।”
टाढाका सक्रिय आकाशगंगाको केन्द्रमा पाइने पूर्ण विकसित ब्लाजारभन्दा हाम्रो नजिकै माइक्रोब्लाजार पत्ता लाग्नुले यस्ता प्रणालीको विकासक्रम अध्ययन गर्ने विशेष अवसर प्रदान गरेको छ।
यसका साथै, यो प्रणालीले पदार्थ आफूतिर तान्ने ब्ल्याक होलबाट वरपरका आकाशगंगामा ऊर्जा कसरी फैलिन्छ भन्ने अध्ययन गर्ने अवसर पनि दिएको छ।
अनुसन्धान टोलीको अध्ययनको प्रारम्भिक संस्करण आर्काइभ नामक शोधपत्र भण्डारण वेबसाइटमा उपलब्ध छ। उक्त अध्ययन ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशनका लागि स्वीकृत भएको छ।
प्रकाशित: १० आश्विन २०८३, शनिबार