
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएकी छन्।
मन्त्री शर्माले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताईन्।
तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उनले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरिन।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार