
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित फेस्टिभल/प्रोमोशनल लगायत बण्डलिङ गरि इन्टर्नेट सेवा संचालन गरेको भन्दै तीन ठूला इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको छ।
प्राधिकरणको बोर्डमार्फत कतिपय इन्टर्नेट सेवा प्रदायकहरुले विभिन्न किसिमका फेस्टिभल/प्रोमोशनललगायत बण्डलिङ गरि इन्टर्नेट सेवा संचालन गरेको पाइएकोले प्राधिकरणको निर्देशन विपरित फेस्टिभल/प्रोमोशनललगायत बण्डलिङ सेवा संचालन गर्ने सेवा प्रदायकहरुलाई कारबाही गरेको जनाएको छ।
यसरी ५० हजार रुपैयाँ जरिवाना तथा कारबाही भोग्नेमा वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, भायानेट कम्युनिकेशन लिमिटेड, र सुबिसु केवलनेट लिमिटेड रहेका छन्।
दिएको निर्देशन पालना नगरेपछि दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारवाही गर्ने प्रक्रिया अगाडी बढाएको थियो।
कारवाहीको प्रक्रिया अगाडी बढाउने क्रममा प्राधिकरणको निर्देशन विपरित फेस्टिभल/प्रोमोशनललगायत बण्डलिङ समेत गरि सेवा संचालन गरेको देखिएकोले प्राधिकरणको मिति २०७९ कात्तिक १८ गतेको निर्णयानुसार दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम किन कारवाही नगर्ने १५ (पन्ध्र) दिनको समयावधी सम्बन्धित सेवा प्रदायकसँग स्पष्टीकरण माग गरिएको थियो।
यसअघि नियामकले महशुलदर स्वीकृति नगराई लागू गर्ने मुख्य मुख्य इन्टर्नेट सेवा प्रदायकहरुको सञ्चालक तथा कार्यकारी प्रमुखसँग इन्टर्नेट सेवा प्रदायकहरुले सञ्चालन गरेको इन्टर्नेट सेवाको महशुलदर लगायत विभिन्न अफर र बन्डलिङ्ग सेवाहरुको सम्बन्धमा पटक/पटक छलफल गरेको थियो।
स्पष्टीकरण माग गरिएकोमा उक्त सेवा प्रदायकहरुले स्पष्टीकरण पेश गरेका थिए। तर सेवा प्रदायकहरुले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले देहाय बमोजिमको सेवा प्रदायकहरुलाई प्राधिकरणको मिति २०७९ फागुन १ गतेको निर्णयानुसार दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम रु. ५० हजार जरिवाना गरिएको जनाएको छ।
यसका साथै सोहि मितिको निर्णयबाट कानून विपरित भए गरेका कार्य बन्द गरी १५ (पन्ध्र) दिन प्राधिकरणलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जरिवाना रकम ३० दिन भित्र तिर्नुपर्ने जानकारी दिए।
“कारबाही र जरिवाना पाएका सेवा प्रदायकहरुलाई आजै पत्र पठाईएको हुँदा अबको ३० दिन भित्र जरिवाना रकम तिर्नुपर्नेछ र १५ दिनभित्र ती सेवाहरु बन्द गर्नुपर्नेछ,” उनले टेक्नोलोजीखबरसँग भने।
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार