जाबोमीको ‘रेडमी नोट फोर’ गोजीमा नै पड्किँदा युवक घाईते, कम्पनीले अनुसन्धान गर्दै

Technology Khabar ३२ श्रावण २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, ३२ साउन । चिनियाँ स्मार्टफोन ब्राण्ड जाबोमीको स्मार्टफोन पड्किएको समाचार बाहिर आएको छ । शाओमी पनि भनिने जाबोमीको रेडमी नोट फोर (Redmi Note 4) स्मार्टफोन पड्किँदा एक युवक घाईते भएका हुन् ।

जाबोमीको रेडमी नोट फोर गोजीमा पड्किँदा एक युवक सख्त घाईते भएको बताईएको छ ।

भारतीय समाचार संस्थाहरुकाअनुसार भारतमा रेडमी नोट फोर गोजीमा पड्किएर सूर्यकिरण नामक व्यक्ति घाईते भएका हुन् ।

भारतको आन्ध्रप्रदेशको ईस्ट गोदावरी जिल्लाको रावुलापालेमका बासिन्दा सूर्यकिरणले फोन चार्ज गरेपछि स्मार्टफोन आफ्नो गोजीमा राखेर बाईकबाट आफ्नो पसलतर्फ जाँदा फोन पड्किएको हो ।

रिपोर्टकाअनुसार यो घट्नाको जानकारी पाउने बित्तिकै जाबोमीले युवकसँग सम्पर्क गरेको छ र अनुसन्धान गरिरहेको छ ।

कम्पनीले यो घट्नालाई गंभीररुपमा लिएको र ग्राहकहरुको सुरक्षालाई महत्वपूर्ण मानिएको उल्लेख गरेको छ ।

ती युवकको गोजीमा भएको बेलामा नै फोनमा आगो लागेको थियो र गोजीबाट स्मार्टफोन निकालेर फालेपछि पनि केहि बेरसम्म स्मार्टफोनमा आगो लागिरहेको रिपोर्टमा बताईएको छ ।

ती युवकले जाबोमीको रेडमी नोट फोर स्मार्टफोन करिब २० दिन पहिले ईकमर्श साइट फ्लिपकार्टबाट खरीद गरेका थिए ।

आएको जानकारीहरुअनुसार सुर्यकिरणले खराब युनिट बिक्री गरेको भन्दै जाबोमीको बिरुद्ध अदालतमा जाने तयारी गरिरहेका छन भने घाईते भएपछिको मुआब्जा पनि दाबी गर्ने योजनामा छन् ।

माध्यम

प्रकाशित: ३२ श्रावण २०७४, बुधबार

तपाइको प्रतिक्रिया