
काठमाडौं ।
इलेक्ट्रिक टू ह्वीलर उत्पादक कम्पनी ओकाया ईभीले भारतीय बजारमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर फास्ट एफ३ सार्वजनिक गरेको छ। यस ईस्कुटरमा एडभान्स र प्रयोगकर्ता मैत्री फिचर उपलब्ध रहेको दैनिक भास्करले उल्लेख गरेको छ।
ईस्कुटरको शुरुवाती एक्सशोरुम मूल्य ९९ हजार ९९९ भारु तोकिएको छ। कम्पनीको वेबसाइटबाट ईस्कुटर बुक गर्न सकिन्छ।
ओकाया फास्ट एफ३ ईस्कुटरको प्रमुख फिचरको रुपमा एन्टी थेफ्ट सिस्टम छ। यसमा ह्वील लक फिचर पनि छ। जसले स्कुटर चोरी हुनबाट बचाउँछ। यदि कसैले चोरी गर्ने कोशिसमा स्कुटर धकलेमा स्वाचालित रुपमा ह्वील्स लक हुन्छ।
ब्याट्री, रेञ्ज र पावर
ओकाया फास्ट एफ३ मा १.२ किलोवाट बीएलडीसी वाटरप्रुफ इलेक्ट्रिक मोटर दिइएको छ। उक्त मोटरले २५०० वाट पिक पावर जनरेट गर्छ। यसमा स्विचेबल प्रविधिका साथै ३.५३ किलोवाट आवरको लिथियम आयन एलएफपी डुअल ब्याट्री छ। ईस्कुटरलाई फुल चार्ज गर्न ४ देखि ५ घण्टा लाग्छ। इलेक्ट्रिक स्कुटरको ब्याट्री र मोटरमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी छ। अधिकतम गति ७० किलोमिटर प्रति घण्टा रहेको स्कुटरको रेञ्ज १३० किलोमिटर भएको कम्पनीको दाबी छ। यसमा तीन ड्राइभिङ मोड ईको, सिटी र स्पोर्ट्स छ।
वाटरप्रुफ
ओकाया फास्ट एफ३ पूर्ण रुपमा वाटरप्रुफ र डस्ट रेजिस्टेन्ट छ। ईस्कुटरमा रिजेनरेटिभ ब्रेकिङ, रिभर्स मोड र पार्किङ मोड पनि दिइएको छ। फ्रन्टमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र रियर सस्पेन्सनमा हाइड्रोलिक स्प्रिङ शक एब्जोर्बर्स दिइएको छ। यसका साथै ईस्कुटरमा कि लेस एन्ट्रीलगायत फिचर पनि छ।
ओकाया फास्ट एफ३ म्याटलिक ब्ल्याक, म्याटलिक स्यान, मेट ग्रीन, म्याटलिक ग्रे, म्याटलिक सिल्भर र म्याटलिक ह्वाइट कलर अप्शनमा उपलब्ध छ। यो स्कुटरको भारतीय बजारमा ओला एसवान, एथर ४५०एक्स, बजाज चेतक इलेक्ट्रिक, टीभीएस आईक्यूब लगायत इलेक्ट्रिक स्कुटरसँग हुनेछ।
प्रकाशित: ६ फाल्गुन २०७९, शनिबार