अब मोबाइल बैंकिङबाट प्रति दिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

  • Technology Khabar | १७ माघ २०७९, मंगलवार
अब मोबाइल बैंकिङबाट प्रति दिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने कारोबार रकमको सीमा बढाएको छ। अबदेखि सेवाग्राहीले मोबाइल एप्लिकेशन तथा क्यूआर कोड मार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न पाउनेछन्।

नेपाल राष्ट्र बैंकले, ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै मोबाइल एप्लिकेशन तथा क्यूआर कोड मार्फत हुने रकम भुक्तानीको सीमा परिवर्तन गरेको हो।

निर्देशन जारी हुन अघि मोबाइल एप्लिकेशन तथा क्यूआर कोड मार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्थ्यो।

इन्टरनेट बैंकिङ मार्फत प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था यथावत नै राखिएको छ।

राष्ट्र बैंकले सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले लिने अधिकतम शुल्क पनि निर्धारण गरेको छ । जसमा ५ हजारसम्मको प्रति कारोबार अधिकतम सेवा शुल्क ५ रुपैयाँ, ५ हजार १ देखि १० हजारसम्म ८ रुपैयाँ र १० हजार १ देखि माथी १० रुपैयाँ लाग्ने छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोवाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङ्गमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार