श्रम सम्बन्धि गुनासो गर्न २४ घन्टे कल सेन्टर, छ महिनाभित्र श्रमाधान मोबाइल एप ल्याईने
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउन टाइम कार्ड सुरु गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने बताएका छन्।
“श्रमसम्बन्धी सेवा तोकिएको समयमा पाउनका लागि श्रम टाइम कार्ड लागू गर्ने तयारी भएको छ”, उनले भने, “टाइम कार्डमा तोकिएको सेवा दिन नसक्ने कारण भए दिनुपर्छ, झुलाउने काम गर्न पाइएन, त्यसको कारण दिनुपर्छ ।”
श्रम मन्त्रालयमा पाँच वर्ष अगाडि नै श्रमिकका गुनासो लिनका लागि कल सेन्टर स्थापना गरिएको थियो । तर कल सेन्टरको काम प्रभावकारी नभएका भन्दै आलोचना हुने गरेको छ।
मन्त्रालयले आजदेखि ‘श्रमाधानः २४ घन्टे श्रम सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ। स्वदेश तथा विदेशमा रहेको श्रमिकले पाउने अप्ठ्यारा, गुनासा समाधानका लागि केन्द्रमा टेलिफोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । “आजदेखि २४ घन्टा कल सेन्टर सुरु भएको छ”, उनले भने।
मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताए। छ महिनाभित्र श्रमाधानको मोबाइल एप पनि सार्वजनिक गरिने मन्त्री अर्यालले बताए । उक्त एपमार्फत श्रम मन्त्रालयसँग सम्बन्धित गुनासो गर्न दर्ता गर्न सकिने छ।
श्रम सम्बन्धमा आएका गुनासा ६ महिना भित्र समाधान गर्ने गरी मन्त्रालय कार्ययोजना बनाएको बताए।