
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरकाअनुसार हाल ‘म्यानुअल्ली’ रूपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।
सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।
अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ। यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए।
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो।
यस किसिमको समस्याको बारेमा आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताईएको छ।
यसअघि सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भरमा देखिएको समस्याका कारण अध्यागमनसहित सबै सरकारी निकायका वेबसाइट तथा सेवाहरु ठप्प भएका थिए।
जीआईडीसीको ब्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक रमेश पोखरेलले आज प्राविधिक समस्याका कारण ४ हजार भन्दा धेरै वेबसाइटहरु ठप्प भएको र सरकारी काममा असर परेको बताएका थिए। उनले केहि समयभित्र सबै सेवाहरु सुचारु हुने जानकारी दिएका थिए।
प्रकाशित: १४ माघ २०७९, शनिबार