टेलिकमले फाइभजी परीक्षणको तयारी गरिरहँदा अझै १४ स्थानीय तह फोरजी सेवाबाटै बञ्चित

Technology Khabar ११ माघ २०७९, बुधबार

काठमाडौं ।

-निर्दोष घोरसाइने

नेपालमा फाइभजी सेवा परीक्षणको संघारमा रहेको समयमा अझै १४ स्थानीय तह नै फोरजी सेवा प्रयोगबाट बञ्चित रहेका छन्। नेपालका कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७३९ स्थानीय तहमा मात्र फोरजी सेवा प्रदान गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ।

१४ स्थानीय तहका उपभोक्ता अझै पनि फोरजी सेवा उपयोग गर्नबाट बञ्चित रहेका छन्।

भौगोलिक रुपमा विकट क्षेत्रमा हालसम्म फोरजी सेवा उपलब्ध गराउन नसकिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन्।

‘मुलुकभर फोरजी सेवा उपलब्ध गराउने जिम्मेवारी र दाहित्व हामीसँग छ,’ प्रवक्ता अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘फोरजी सेवा विस्तारमा नेपाल टेलिकम अग्रसर नै छ। विकट भूगोल भएका क्षेत्रमा पनि सेवा उपलब्ध गराइरहेका छौं।’

फोरजी सेवाका लागि अप्टिकल फाइबर वा माइक्रोवेभमध्ये एकबाट उपलब्ध गराउनु पर्ने हुन्छ। फाइबरमा ट्राफिक क्यारियर गरेर स्वीचसम्म ल्याउनु पर्छ भने माइक्रो वेभको हकमा एउटा टावर अर्को टावरमा देखिनुपर्ने हुन्छ।

भीस्याट प्रविधिबाट फोरजी चलाउन सकिँदैन। केही स्थानीय तहको भौगोलिक संरचना जटिल भएकाले हालसम्म फोरजी सेवा उपलब्ध गराउन समस्या भइरहेको उनी बताउँछन्।

नेपाल टेलिकमले विगतमा पनि जटिल भौतिक संरचना भएका स्थानमा पनि फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। बाँकी १४ स्थानीय तहका उपभोक्ताले पनि छिट्टै फोरजी सेवा उपलब्ध गराउने योजना अनुरुप नेपाल टेलिकमले काम गरिरहेको उनको दाबी छ।

फोरजी सेवा बिस्तारका लागि जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) कम्पनीले काम गर्दै आइरहेका छन्।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १६ गते फोरजी सेवाको औपचारिक शुरुवात गरेका थिए। साथै २०७८ जेठ ३ गतेदेखि फोरजी भोल्टेको परीक्षण शुरु गरिएको थियो।

जेडटीई र सीसीएसआई कुल २२ अर्ब ९ करोड रुपैयाँमा फोरजी सेवा विस्तारको ठेक्का पाएको थियो। नेपाल टेलिकम र फोरजी सेवा बिस्तारको काम पाएको ठेकेदार कम्पनीबीचको सम्झौता अनुसार १२ महिना भित्र फोरजी सेवा विस्तार गर्ने योजना थियो। तर कोभिड १९ महामारीका कारण सम्झौता अनुसार काम हुन नसकेको टेलिकमको भनाई छ।

सम्झौता बमोजिमको फोरजी सेवा बिस्तारको काम ९८ प्रतिशत सम्पन्न भइसकेको प्रवक्ता अधिकारीले जानकारी दिए। कभरेजका हिसाबले ७७ जिल्लामै फोरजी सेवा उपलब्ध भइसकेको छ। सम्झौता हुँदा र अहिलेको परिस्थिति धेरै परिवर्तन भइसकेको छ। त्यसैले विगतको सम्झौता बमोजिमको उपकरणले सबै क्षेत्रमा फोरजी सेवा विस्तार गर्न सम्भव नदेखिएको उनको भनाई छ।

मुलुकका सबै स्थानीय तहमा फोरजी सेवा कसरी पुर्याउन सकिन्छ भनेर नेपाल टेलिकमले अध्ययन पनि गरेको छ। यसका लागि नयाँ प्रविधिको प्रयोग वा अन्य विकल्पहरु देखिएका छन्। साथै पछिल्लो समय धेरै जिल्लाहरुमा फाइबर थप गरेको जानकारीसमेत दिएको छ। सम्भव भएका क्षेत्रमा फाइबरबाटै फोरजी सेवा उपलब्ध गराउने योजनामा पनि नेपाल टेलिकमले काम गरिरहेको छ।

“सम्पूर्ण नेपाली जनताले सहजरुपमा फोरजी सेवा उपयोग गर्ने वातावरण तयार गर्ने जिम्मेवारी नेपाल टेलिकमसँग छ। आवश्यकताका आधारमा बीटीएस पनि थप गर्नु पर्ने हुन्छ। यसका लागि थप बजेटको आवश्यक पर्छ। यदि पुरानै बजेटबाट काम गर्नु पर्ने अवस्था देखिएमा उपलब्ध उपकरणको शक्ति बढाएर वा धेरै कभरेज प्रदान गर्ने स्थानमा उपकरण जडान गर्नु पर्ने हुन्छ। यसका लागि पनि टेलिकमले अध्ययन गरिरहेको छ,” उनले भने दिए।

तर कहिलेसम्म बाँकी १४ स्थानीय तहहरुमा फोरजी सेवा पुर्याउने भन्ने टेलिकमको कुनै रोडम्याप हाल तयार छैन्।

प्रकाशित: ११ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया