अप्टिकल फाइबर काटिएपछि प्रदेश १ मा नेपाल टेलिकमको सेवामा समस्या

  • Technology Khabar | २५ पुष २०७९, सोमबार
अप्टिकल फाइबर काटिएपछि प्रदेश १ मा नेपाल टेलिकमको सेवामा समस्या
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको सेवा प्रदेश १ मा अवरुद्ध भएको छ। प्रदेशभर हाल भ्वाइस सेवा बाहेक अन्य सेवाहरु डाउन भएको ग्राहकहरुले गुनासो गरेका छन्।

कम्पनीले सडक बिस्तार गर्दा अप्टिकल फाईबर काटिएपछि सेवामा अवरोध आएको र प्राविधिकहरु मर्मत कार्यमा रहेको जानकारी दिएको छ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले प्रदेश नम्बर २ को सिराहा जिल्लाको लाहानमा अप्टिकल फाइबर काटिएपछि सेवामा समस्या आएको जानकारी दिए।

“लाहानमा ट्राफिक चोकमा सडक बिस्तार गर्दा अप्टिकल फाइबर काटिदिएपछि समस्या देखियो,” उनले टेक्नोलोजीखबरसँग भने, “भ्वाइस सेवा चलेको छ तर डाटा सेवामा समस्या आएको हो।”

उनकाअनुसार भ्वाइस सेवा संचालनमा प्राथमिकता दिईएको र यसको लागि माइक्रोवेभमार्फत सेवा संचालन भईरहेको छ जसले गर्दा टूजी र थ्रीजी सेवा संचालनमा छ।

प्रवक्ता अधिकारीले हाल प्राविधिकहरुले काटिएको अप्टिकल फाइबर मर्मत गरिरहेको छ केहि समयभित्रै सबै सेवा संचालनमा आउने जानकारी दिए ।

सरकारले पूर्व पश्चिम राजमार्गलाई ८ लेनमा बिस्तार गरेर स्तरोन्नती गर्ने क्रममा उक्त स्थानमा माटो खन्न प्रयोग गरिएको एक्साभेटरले फाइबर काटिदिएको हो।

पछिल्लो समय सडक बिस्तारको क्रममा टेलिकम कम्पनीहरुको सेवामा अवरोध आउने गरेको छ। जसले गर्दा कम्पनीका साथै सेवाग्राहीहरुले समेत समस्या भोग्ने गरेका छन्।

केहि समयअघि मात्रै एनसेलको अप्टिकल फाइबर बुटवलमा सडक बिस्तारको क्रममा काटिदिँदा सेवा अवरुद्ध भएको थियो।

प्रकाशित: २५ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार