
काठमाडौं ।
परराष्ट्र सचिव भरत राज पौडेलले नेपालबाट सूचना प्रविधिको सेवा विदेशमा निर्यात गर्न सक्ने संभावना औंल्याएका छन्।
सचिव पौडेलले साउतीद्धारा आज काठमाडौंमा आयोजित संघिय नेपालमा व्यापार नीति तथा आर्थिक कुटनीति विषयक सम्मेलनमा बोल्दै सूचना प्रविधि सेवालाई विदेशमा निर्यात गर्न सकिने संभावना देखिएको र त्यसको लागि सबैले पहल गर्नुपर्ने बताए।
“नयाँ इमर्जिङ्ग एरियालाई कसरी सहजीकरण गर्ने भन्ने छ। हामीले आईटी निर्यात र बिपीओ क्षेत्रलाई बढाउन सक्नेछौं। यसभन्दा अगाडिदेखि यी क्षेत्रमासमेत काम गर्दै आएका छौं,” उनले भने।
उनले पाकिस्तानमा प्रविधिको प्रयोग बारेमा उदाहरण दिँदै नेपालमा पनि प्रविधिको उपयोग गरेर वस्तु तथा सेवा निर्यात गर्न सकिने बताए।
उनले कुनैपनि सरकारी निकायहरुमा समन्वयन नभएको र क्षमता समेत नदेखिएको स्वीकार गरे।
कार्यक्रममा बाणिज्य सचिव तोया रायमले निर्यात व्यापारलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए।
साउतीका कार्यकारी निर्देशक डा. पोषराज पाण्डेले नेपालको आर्थिक वृद्धिका लागि निर्यातको मात्रा बढाउनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: १३ पुष २०७९, बुधबार