तिलोत्तमामा विद्युुतीय रेल सञ्चालन हुने

  • Technology Khabar | ९ पुष २०७९, शनिबार
तिलोत्तमामा विद्युुतीय रेल सञ्चालन हुने
सांकेतिक तस्बिर।

काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गौरवको आयोजना बनाएको विद्युतीय रेल सञ्चालन हुने भएको छ।

आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने र चक्रपथलाई विद्युतीय यातायातले जोड्ने उद्देश्यका साथ तिलोत्तमा ट्राम (विद्युतीय रेल) को शिलान्यास तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार गरे।

नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यो रेल सेवा एक वर्षभित्रै सञ्चालनमा ल्याइने नगरप्रमुख खाँणले बताए। तिलोत्तमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अगाडि बढाएको उनले जानकारी दिए।

तिलोत्तमा पब्लिक रेलवे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय तह र एसियाली विकास बैकलगायतको सहयोगमा परियोजना चलाउन लागेको बताए।

यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपियाँ सहयोगबाट तयार गरिएको छ।

कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले आठ अर्ब रुपियाँ लागतमा ५० किलोमिटरको रेल सेवा सञ्चालन हुने जानकारी दिए। स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको शर्माले जानकारी दिए। लुम्बिनी प्रदेश र तिलोत्तमा नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँको लगानी हुनेछ। रेलका लागि १७ ओटा स्टेसन बनाइनेछ।

परियोजना सुरु भएपछि एक सय जना कर्मचारीले स्थायी रूपमा रोजगारी पाउनेछन् । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी राजमार्गलाई जोड्ने गरी स्तरबुद्धि र विस्तार गर्ने लक्ष्य रहेको रेलवेका प्रबन्ध निर्देशक शर्माले बताए। गोरखापत्रबाट

प्रकाशित: ९ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...