देवनागरी लिपि नभएको इम्बोस्ड नम्बर प्लेटको निर्णय खारेज गर्न विश्व हिन्दू परिषदको माग

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
देवनागरी लिपि नभएको इम्बोस्ड नम्बर प्लेटको निर्णय खारेज गर्न विश्व हिन्दू परिषदको माग

काठमाडौं ।

देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट लागु गर्ने निर्णय तुरुन्त खारेज गर्न विश्व हिन्दू परिषद नेपाले माग गरेको छ।

सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णयप्रति विश्व हिन्दू परिषद, नेपाल गम्भीर आपत्ति प्रकट गरेको छ।

परिषदले एक विज्ञप्ती जारी गर्दै इम्बोस्ड नम्बर प्लेट प्रकरणको गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको देखिने उल्लेख गरेको छ।

संविधानअनुसार सरकार वा मातहतका निकायहरूबाट कुनै पनि लिखित दस्तावेज वा लिपिबद्ध कार्यक्रमको कार्यान्वयनलाई नेपाली भाषाबाट मात्र गर्नु पर्ने भन्दै अहिले जडान गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी माध्यमबाट प्रिन्ट गरी वितरण गर्ने बताएको छ।

विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी लिपिको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत् इम्वोस्ड नम्बरको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो ।

नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले नेपाली भाषामाथिको ठाडो प्रहार भएको परिषदको ठहर छ।

“नेपाली भाषाको देवनागरिमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट लाद्न खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्त दुर्भाग्यपूर्ण निर्णय हुने निश्चित छ। नेपाल सरकार यातायात विभागको यस्तो निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै गम्भीर विषय हो,” प्रेस विज्ञप्तीमा भनिएको छ।

यसरी नेपाली भाषालाई प्रयोग गर्नुपर्ने संवैधानिक अनिवार्यता हुँदा हुँदै पनि इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिने विदेशी भाषाबाट देशको संस्कृति माथि नै प्रहार हुने देखिन्छ। नेपालको पहिचानलाई विस्थापित गराउन लामो समय देखि योजनाबद्ध प्रयासहरू भइरहेकोमा आशंका समेत व्यक्त गरेको छ।

अहिलेको इम्बोस्ड प्लेट प्रकरण पनि नेपाली भाषालाई विस्थापित गराउने नियोजित प्रयास भएको भन्दै होइन भने हाम्रो छिमेकी राष्ट्र बांग्लादेश, त्यसै गरी इजिप्ट र जोर्डनमा समेत इम्बोस्ड नम्बर प्लेट जडान गर्न त्यहाँको राष्ट्रभाषा लाई प्रयोग गर्न सकिन्छ भने संवैधानिक दायित्व हुँदा हुदै नेपालमा अप्ठ्यारो किन ? भन्ने प्रश्न गरेको छ।

जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरितको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा र देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका लागि विश्व हिन्दू परिषदले विज्ञप्तीमार्फत सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार