फाइभजी सेवा पहिलो चरणमा काठमाडौं, त्यसपछि पोखरा र वीरगंजमा

  • Technology Khabar | २६ मंसिर २०७९, सोमबार
फाइभजी सेवा पहिलो चरणमा काठमाडौं, त्यसपछि पोखरा र वीरगंजमा

काठमाडौं ।

– निर्दोष घोरसाइने

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने भएको छ। काठमाडौंमा फाइभजी परीक्षण शुरु भएलगत्तै पोखरा र विरगंजमा शुरु गर्ने नेपाल टेलिकमको योजना छ।

‘काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरिसकिएको छ। पोखरा र विरगंजमा फाइभजी उपकरण जडान गर्न बाँकी छ। निर्वाचनको समयमा टेलिकमका कर्मचारीहरु पनि खटिनु परेकाले पोखरा र वीरगंजमा फाइभजी उपकरण जडान गर्न ढिलाइ भएको हो,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘अब छिट्टै पोखरा र वीरगंजमा पनि फाइभजी उपकरण जडान हुन्छ।’

पहिलो चरणमा काठमाडौंमा फाइभजी सेवाको परीक्षण शुरु हुन्छ। त्यस पछि पोखरा र वीरगंजबाट पनि एकै साथ फाइभजी परीक्षण कार्य शुरु गरिने उनको भनाई छ।

टेलिकमले अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात पुस १७ गतेदेखि फाइभजी परीक्षण शुरु गर्ने योजना बनाएको छ। यसका लागि टेलिकमले काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरेर फ्रिक्वेन्सी परीक्षण तथा आन्तरिक परीक्षण गरिरहेको छ।

पोखरा र वीरगंजमा पनि फाइभजी सेवा शुरु गर्नका लागि आवश्यक उपकरण आयात भइसकेको छ। यसको लागि पोखरा र वीरगंजमा फाइभजी उपकरण जडान गरेर टेलिकमले परीक्षण शुरु गर्नेछ।

काठमाडौंमा फाइभजी आमउपभोक्ताले प्रयोग गर्न सक्नेगरी पुस १७ गतेसम्म तयारी पुरा गर्ने टेलिकमको लक्ष्य छ।

पुस १७ गतेदेखि फाइभजी सपोर्ट गर्ने डिभाइस प्रयोग गर्ने सम्पूर्ण प्रयोगकर्ताले फाइभजी सेवा उपयोग गर्न सक्ने प्रवक्ता अधिकारीले बताए।

‘यो फाइभ जीको परीक्षण सेवा हो। परीक्षण भएकाले फाइभ जी सपोर्ट गर्ने डिभाइस प्रयोग गर्ने सबैका लागि खुल्ला रहन्छ। नयाँ प्रविधि भएकाले उपभोक्ता र सेवा प्रदायक दुवैका लागि फाइभ जीले नयाँ अनुभव प्रदान गर्नेछ। सो अनुभवको आधारमा अन्य क्षेत्रमा फाइभजी सेवा विस्तार गरिनेछ।’

टेलिकमले नेपालको ७ प्रदेशमै फाइभ जी सेवा परीक्षण शुरु गर्ने योजना बनाएको छ। ७ प्रदेशमा फाइभजी सेवा शुरु गर्नका लागि टेलिकमले फोरजी उपकरण आपूर्तिकर्ता चीनको सीसीएसआई र जेडटीईसँग खरिद सम्झौता गरेको छ। देशभर फोरजी सेवा बिस्तारका लागि टेण्डर गर्दा नै केहि सिमित शहरमा फाइभजी सेवा शुरु गर्नका लागि आवश्यक उपकरण उपलब्ध गराउने गरी टेलिकम र सीसीएसआई–जेडटीईबीच सम्झौता भएको थियो।

तर त्यसमा संसोधन गरेर सरकारले सातै प्रदेशका प्रमुख शहरमा फाइभजी सेवा परीक्षण गर्न टेलिकमलाई निर्देशन दिएको थियो।

उक्त सम्झौता बमोजिम सीसीएसआई–जेडटीईले नेपाल टेलिकमलाई फाइभजी उपकरण उपलब्ध गराएको छ। तीन स्थानमा फाइभजी सेवा शुरु गर्नका लागि आवश्यक फाइभजी उपकरण आयात भइसकेको बताईएको छ।

बाँकी ४ प्रदेशका लागि आवश्यक फाइभजी उपकरण आयात हुने क्रममा छ। टेलिकमले अन्य प्रदेशको कुन स्थानबाट फाइभजी सेवा शुरु गर्ने भनेर पहिचान गर्न बाँकी छ।

पहिलो चरणको परीक्षण कार्य सम्पन्न भइसकेपछि मात्र बाँकी स्थानको पहिचानको कार्य शुरु गरिने प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: २६ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...