अटो व्यवसायीको प्रश्न- गाडी भन्दा धेरै आयात हुने मोबाइल क्षेत्रको किन कम राजस्व ?

  • Technology Khabar | १६ मंसिर २०७९, शुक्रबार
अटो व्यवसायीको प्रश्न- गाडी भन्दा धेरै आयात हुने मोबाइल क्षेत्रको किन कम राजस्व ?

काठमाडौं ।

गाडी आयातकर्ता तथा व्यवसायीहरुले सरकारले रोक लगाएको गाडीको आयात खुलाउन माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गाडी आयात मोबाइल लुकाएर ल्याएको जस्तो नभएको बताए।

व्यवसायीहरुले आज पत्रकार सम्मेलन गर्दै महंगा मोबाइल आयातमा रोक लगाएको भएपनि सिमित स्तरमा मोबाइल आयात भएको र सो आयातको भोल्यूम पनि उच्च रहेको बताए। यसका साथै उनीहरुले मोबाइल आयातमा तिर्ने सरकारी राजस्व समेत गाडीको भन्दा निकै कम भएको आरोप लगाए।

कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले महंगा मोबाइलको आयात रोक्दा पनि आयात उच्च भएको तर उनीहरुले न्यून कर तिर्ने गरेको जिकिर गरे।

“मैले हेर्दा मोबाइलको आयात पनि उच्च छ र वार्षिक करिब ३०/३१ अर्ब जतिको देखिन्छ। तर उनीहरुले तिर्ने कर निकै कम छ,” अध्यक्ष थापाले भने।

त्यस्तै अर्का गाडी व्यवसायी आकाश गोल्छाले मोबाइल चोरी गरेर भित्रिँदा बजारमा कुनै समस्या नदेखिएको तर गाडी आयात त्यसरी नहुने जिकिर गरे।

“मोबाइल आयात र गाडी आयात एउटै होइन्। अहिले पनि छ्यापछ्याप्ति आईफोन भन्सार छलेर आईरहेका छन्। त्यसले कर छलिरहेका छन्। तर गाडी आयात त्यस्तो होईन्,” उनले भने।

यसैगरी अन्य व्यवसायीहरुले पनि अनौपचारिकरु कुराकानीमा गाडी भन्दा मोबाइल आयात धेरै हुने गरेको भन्दै गाडीलाई मात्र तारो बनाइएको आरोप लगाए।

विभिन्न माग राख्दै व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। नाडाले मंसिर २२ गते माइतिघर मण्डलामा विरोधको कार्यक्रम समेत आयोजना गरेका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिना स्मार्टफोन शिर्षकमा १० अर्ब १० करोड रुपैयाँको आयात भएको छ भने फिचरफोन वा बार फोन ९२ करोड ८५ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

तर सरकारले ३५० डलर भन्दा माथिका मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको छ भने निजी प्रयोजनका कार जीप भ्यान तथा १५० सीसी माथिका मोटरसाइकल आयातमा रोक लगाएको छ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार