एमालेको चुनावी घोषणापत्रः निशुल्क सार्वजनिक इन्टरनेटदेखि आफ्नै स्याटेलाईट स्थापनासम्म

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार
एमालेको चुनावी घोषणापत्रः निशुल्क सार्वजनिक इन्टरनेटदेखि आफ्नै स्याटेलाईट स्थापनासम्म

काठमाडौं ।

नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि डिजिटल माध्यमबाट आफ्नै फिंगरप्रिन्ट स्क्यान गरी घोषणापत्र सार्वजनिक गरेका हुन्।

आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनेमा एमालेले ५ वर्षमा २० वटा काम गर्ने ‘ट्वान्टी ग्यारेन्टी’ लिएको छ।

यसमध्ये ‘नो लाइन, सेवा अनलाइन र फाइभजी सञ्चार, आइटीमा चमत्कार’ गरी २ ओटा सूचना प्रविधिसँग सम्बन्धित छन्।

“सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने शिर्षक” अन्तरगत सबैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाइने, अप्टिकल फाइवर बिछ्याउने काम सम्पन्न गरी सूचना प्रविधिमा फाइभजी प्रविधिको सुविधा उपलब्ध गराइने बताएको छ।

यस्तै ‌विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ् कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निशुल्क गरिने छ भने कृषि कार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा सुविधा, जनस्वास्थ्य, मौसम तथा विपद् सम्बन्धी जानकारी नियमित रूपमा मोबाइल एपमार्फत उपलब्ध गराइने उल्लेख छ। यस बाहेक नागरिक सुरक्षाका लागि सहरी सडक तथा सार्वजनिक स्थलमा सीसी क्यामरा जडान गरिने लगायतका सेवाको ग्यारेन्टी गरिएको छ।

यसका साथै घोषणापत्रमा सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोग बढाइने छ। डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जनसहित कार्यान्वयन गरिने लेखिएको छ। राज्य संयन्त्रको परिचालन, सेवा प्रवाहका कार्यहरू तथा उत्पादन र उत्पादकत्व अभिवृद्धिका क्षेत्रहरूमा डिजिटल प्रविधिको अधिकाधिक प्रयोग गरी आर्थिक सामाजिक विकास र रूपान्तरण गरिने छ।

यस्तै इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गरिने छ। सूचना प्रविधिलाई आम नागरिकको पहुँचमा पुयाइनेछ। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार र वित्तीय क्षेत्रमा सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह गरिने छ।

एमालेको घोषणापत्रमा भनिएको छ, “सामुदायिक अस्पताल र विद्यालयमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइने छ। सबै स्थानीय तहका केन्द्र र तराई-मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुयाइनेछ। हुलाक व्यवस्थालाई आधुनिकीकरण गरी नागरिक सेवा संस्थाका रूपमा विकसित गरिने छ।”

“हाम्रो नेतृत्वको सरकारले लामो समयदेखि अलपत्र परेको नेपालको अर्वाइटल स्लटलाई नेपालकै स्वामित्वमा ल्याएको छ। उक्त अर्वाइटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाईट स्थापना गरिने छ। ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठुलो रकम विदेशिनबाट रोकिने छ । दूरसंचार सेवाको सहज र गुणस्तरीय विस्तार गरिने छ,” एमालेले उल्लेख गरेको छ।

सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गरी छिटोछरितो, गुणस्तरीय, पारदर्शी र सहज तुल्याइने, सूचना प्रविधिमा नवप्रवर्तन (इन्नोभेसन) लाई प्रोत्साहन गरिने र सामाजिक सञ्जाल र अनलाईन मिडियालाई आमजनताको चेतना अभिवृद्धिका निम्ति सदपयोग गरिने लेखिएको छ।

हेर्नुस् पूर्ण पाठ-

UML-Election-Manifesto-2079

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • १५ कार्तिक २०७९, मंगलवार